स्याङ्जा, वैशाख ३१ । गल्याङ नगरपालिकाको आयोजनामा छाती रोग सम्बन्धी निःशुल्क एक्स–रे शिविर सम्पन्न भएको छ। गल्याङ नगरपालिका–३, बल्पुकस्थित नगर अस्पतालमा आयोजित शिविरमा कुल ३ सय ३६ जना सेवाग्राहीले छातीको निःशुल्क एक्स-रे सेवा लिएका छन्।
शिविरमा गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु प्रसाद भट्टराईले उद्घाटन गरेको शिविर अत्याधुनिक प्रविधियुक्त AI Portable X-Ray उपकरणमार्फत गरिएको थियो । शिविरमा १२ जनामा क्षयरोग (टीबी) पुष्टि भएको छ। ती सबै बिरामीलाई आजैदेखि निःशुल्क औषधि वितरण गरिने व्यवस्था गरिएको गल्याङ नगरपालिकाले जनाएको छ।
त्यस्तै, सम्भावित क्षयरोगका २२ जना सेवाग्राहीको खकार परीक्षणका लागि नमुना संकलन गरिएको छ। शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीको उपस्थिति रहेको थियो।
स्वास्थ्यप्रति गल्याङ नगरपालिका गम्भीर रहेको जनाउँदै नगरप्रमुख भट्टराईले यसअघि पनि नगरपालिकाले एकीकृत घुम्ती स्वास्थ्य शिविर, नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिविर र आँखाको स्वास्थ्य शिविर सफलतापूर्वक सञ्चालन गरिसकेको बताए।
नगरवासीको स्वास्थ्य सेवा पहुँचमा सहजता ल्याउने उद्देश्यले सञ्चालन गरिएका यस्ता शिविरहरूलाई निरन्तरता दिइने पनि नगर प्रमुखले जानकारी दिएका छन् ।