स्याङ्जा, वैशाख २६ – स्याङ्जामा नवआगन्तुक जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ददिराम न्यौपाने र जिल्लाका पत्रकारबीच परिचयात्मक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक न्यौपानेले जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन सबैपक्षसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले कानुनी शासन र अपराध नियन्त्रणमा पत्रकारिता क्षेत्रको सकारात्मक भूमिकाको अपेक्षागर्दै समन्वयमा काम गर्ने बताए।
नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले जिल्लामा सञ्चारमाध्यमको पहुँच, चुनौती र वर्तमान अवस्थाबारे जानकारी गराउँदै सूचनाको प्रवाहमा सहजता ल्याउन प्रहरी प्रशासनसँगको सहकार्यलाई प्राथमिकता दिइएको बताए।
कार्यक्रममा बोल्दै महासंघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, रोशन लामिछाने, महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओम प्रकाश शर्मा, प्रकाश डोटेल, संस्थापक सदस्य भरत लम्साल लगायतले नयाँ प्रहरी प्रमुखबाट कानुनी शासन, शान्ति सुरक्षा र समुदाय–प्रहरी समन्वयमा नयाँ उचाइमा पुग्ने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा पत्रकार र सुरक्षाकर्मी दुवै जनताप्रति उत्तरदायी संस्था भएकाले नागरिकमैत्री सेवा सुनिश्चित गर्न सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।