स्याङ्जा, वैशाख २२ । स्याङ्जाको वालिङ नगरपालिका–१४, बायाँखोलामा राष्ट्रशान्ति, धर्मसंस्कृति संरक्षण तथा आध्यात्मिक चेतनाको विस्तारका लागि राष्ट्रशान्ति १०८ श्रीमद्भागवत सप्ताह तथा तण्डुलाचल ज्ञान महायज्ञ एवं श्रृङ्गारिक महाआरती आयोजना गरिने भएको छ।
श्री कालिका आध्यात्मिक प्रतिष्ठानको आयोजनामा वैशाख २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने महायज्ञको प्रमुख कथा वाचक पं. प्रकाश तिवारी रहनेछन् भने उप–वाचक पं. हरि गैरे रहने शनिवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अध्यक्ष पं. प्रकाश तिवारीले जानकारी दिएका छन्।
महायज्ञको समुद्घाटन वैशाख २४ गते दिउँसो १ बजे प्रमुख अतिथि श्री कृष्ण खाँणले गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ। त्यसअघि बिहान ११ बजे भव्य कलश यात्राबाट कार्यक्रम सुरु हुनेछ।
महायज्ञ अवधिभर विहान ७ बजेदेखि १२ बजेसम्म पूजा, हवन, शालिग्राम पूजा, शिव अभिषेक, गौ तथा कन्या पूजन, पञ्चदेव आराधना र राधाकृष्ण पूजा हुने बताइएको छ। अपराह्न १२:३० देखि ५:०० बजेसम्म श्रीमद्भागवत कथा वाचन हुनेछ भने साँझ ८ देखि १० बजेसम्म राष्ट्रिय स्तरका कलाकारहरूबाट भजन–कीर्तन प्रस्तुत गरिनेछ।
यो आयोजनाबाट प्राप्त सहयोगमार्फत प्रतिष्ठानले धर्मसंस्कृति सम्बद्ध संरचना निर्माण, अनाथ आश्रम, अन्न क्षेत्र, वृद्ध–असक्त सेवा, १०८ शिवलिङ्ग स्थापनाजस्ता कार्यहरू अगाडि बढाउने योजना रहेको संयोजक वडा अध्यक्ष बोधराज कुँवरले जानकारी दिए।
स्थानीय तह, धार्मिक व्यक्तित्व तथा जनसमुदायको सहयोगमा सम्पन्न हुने यस महायज्ञलाई भव्य र ऐतिहासिक बनाउने उद्देश्य आयोजकले लिएको छ।