पोखरा, वैशाख २१ । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञअन्तर्गत आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन गरिएको छ। नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा मानव सेवा फाउण्डेशनले उक्त रक्तदान कार्यक्रम सञ्चालन गरेको हो।
पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको कोटीहोमको १६औं दिन शनिबार करिब १५ हजार भक्तजन सहभागी भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।
भक्तजनको संख्यासँगै आर्थिक दान संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ। शनिबार पोखराका शेरबहादुर गुरुङले एक लाख एक सय पाँच रुपैयाँ र म्याग्दीका रामचन्द्र जिसीले ५१ हजार एक सय ११ रुपैयाँ दान गरेका छन्।
कार्यक्रममा कलश यात्रामा सहभागी विभिन्न आमा समूहलाई सम्मान गरिएको थियो। त्यस्तै, लोक दोहोरी गायक राजन कार्कीले गीत प्रस्तुत गरी भक्तजनलाई मनोरञ्जन प्रदान गरेका थिए।
कोटीहोममा एक सय वटा हवन कुण्डमा दैनिक रुपमा हवन, भजन चुट्का प्रतियोगिता, रामायण प्रवचन र कथा वाचनजस्ता धार्मिक गतिविधिहरू जारी छन्। भारतीय व्यासाचार्य प्रशान्त कृष्ण परांकुशजीले रामायण प्रवचन गरिरहेका छन् भने वाचिका सुप्रिया दैनिक रूपमा कथा वाचन गरिरहेकी छन्।
शनिबार बिहान ८ बजेर ५ मिनेटमा हवन गरिएको थियो। हवन कार्य जेठ २६ गतेसम्म जारी रहने संयोजक ढकालले जानकारी दिए। हरेक हवन कुण्डमा तीन जना ब्राह्मणले गायत्री मन्त्रअनुसार हवन गरिरहेका छन्।
महायज्ञमा १०८ श्रीमद्भागवत पाठ, चार वेद पाठ, सप्तचण्डी, अति रुद्री, मन्त्र जपजस्ता धार्मिक गतिविधिहरू सञ्चालन भइरहेका छन्।
पोखराका शिक्षासेवी पम्फा गुरुङ, पोखरा महानगरपालिका शिक्षा महाशाखा सदस्य तारा पौडेललगायत विशिष्ट व्यक्तिहरूको पनि सहभागिता रहेको छ।
आज (आइतबार) बाट खुला भजन चुट्का प्रतियोगिता सुरु भएको छ। संयोजक प्रजापति पराजुलीका अनुसार प्रतियोगितामा देशभरबाट करिब तीन सय जना सहभागी हुँदैछन्।
प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ, दोस्रो हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तेस्रो हुनेलाई एक लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ तथा सान्त्वना पुरस्कारस्वरूप दुई जनालाई जनही ६५ हजार रुपैयाँ प्रदान गरिनेछ।
त्यस्तै, विभिन्न ११ विधामा छुट्टाछुट्टै २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कारको व्यवस्था गरिएको छ।
महायज्ञ स्थलमा वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनेर सुरु गरिएको यज्ञ २०८२ जेठ २६ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।