स्याङ्जा १७ वैशाख ।
नेपाल सरकारका उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल धार्मिक पर्यटनको सम्भावनाको देश भएको बताएका छन् । स्याङ्जाको वालिङमा श्रीमद् भागवत सप्ताह ज्ञान तण्डुलाचल तथा धार्मिक अनुष्ठानको शुभारम्भ गर्दै उपप्रधानमन्त्री सिंहले पर्यटनको विकासमा धार्मिक क्षेत्रको संरक्षण र सम्वर्द्धनमा लाग्नुपर्ने बताएका हुन् ।
नेपालमा धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको भन्दै उपप्रधानमन्त्री सिंहले समाजलाई व्यवस्थापन गर्न धर्मले महत्वपुर्ण भुमिका खेल्ने बताए । धर्मले मानिसलाई संस्कार र संस्कृति सिकाउँछ उनले भने,‘ गर्न हुने र गर्न नहुने काम आफै छुट्याउन भुमिका खेल्छ ।’ आफै निर्णय गर्न सक्ने धर्मलाई जोगाइराख्न यस्ता महायज्ञको भुमिका महत्वपुर्ण छ उनले भने ।
समाजलाई सकरात्मक बाटोमा हिडाउन धर्मले भुमिका खेल्ने उल्लेख गर्दै मन्त्री सिंहले नकरात्मक समाज हटाउन धार्मिक क्रियाकलाप बढाउनुपर्ने बताए । शहरी विकास मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री सिंहले पूर्वाधार विकासमा सरकारको प्राथमिकता रहेको बताए । लामो समयदेखी स्तारोन्नतीको माग राख्दै आएका स्याङ्जावासीका लागि सिद्धार्थ राजमार्गको स्त्तरोन्नतिको आउने आर्थिक बर्षदेखी शुरु हुने बताए ।
राजनीतिक परिवर्तनमा स्याङ्जासँग आफ्नो पुरानो साइनो रहेको भन्दै आफ्ना बुवा, कृष्णप्रसाद र गिरिजाबावुको स्मरण गरे । यो साइनो भएकै कारण जिल्लाको विकासका लागि आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । महायज्ञ शुभारम्भका अवसरमा संघिय सांसद राजु थापाले सिद्धार्थ राजमार्गको स्त्तरोन्नति भएमा धार्मिक पर्यटक भित्राउन सहज हुने धारणा राखेका थिए । जिल्लामा धेरै धार्मिक पर्यटकीय क्षेत्र रहेको भन्दै सांसद थापाले यिनीहरूको संरक्षण र प्रचारप्रसारमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
यस्तै गण्डकी प्रदेश सभाका सांसदहरू सरस्वती तिवारी र महेश भट्टराई पूर्व सांसद मेखलाल श्रेष्ठ, भागवतप्रकाश मल्ल, समाजसेवी तथा उद्योगी डोलराज शर्मा पंगेनी, वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे, खगेन्द्रप्रसाद अर्याल, भूपराज बगाले लगायतले धर्मसंस्कार र महायज्ञको बारेमा आ—आफ्नो धारणा राखेका थिए । स्याङ्जाको वालिङमा रहेको केदारनाथ क्षेत्रलाई शिव धाम निर्माण गर्ने योजनाका साथ वालिङमा महायज्ञ सुरु गरिएको हो ।
योगी नरहरि नाथलेद्वारा नामाकरण गरिएको वालिङ नगरपालिका–८ को केदारनाथ मन्दिरलाई स्त्तरोन्नति गरी धाम निर्माण गर्ने दीर्घकालीन योजना रहेको महायज्ञ आयोजक समितिका संयोजक दिलिपप्रताप खांणले बताए । सिद्धार्थ राजमार्गसँगै रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आयोजकको भनाइ छ ।
उपप्रधानमन्त्री सिंहले केदारनाथ मन्दिर तथा प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र गह्रौंसुरमा रहेको कालिका मन्दिरको समेत दर्शन गरेका थिए । वैशाख २३ गतेसम्म सञ्चालन हुने महायज्ञले वालिङमा केदारनाथ धाम स्थापनाका लागि आधार तयार गर्ने आयोजकको दावी छ ।