स्याङ्जा । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) यही चैत्र ७ गते विहिवारवाट सुरु हुँदैछ ।
स्याङ्जामा परिक्षाका लागि प्रश्नपत्र तथा उत्तरपुस्तिका परीक्षा केन्द्रहरूमा पुगिसकेको छ भने परीक्षाको लागि आज केन्द्राध्यक्षहरूलाई अभिमुखिकरण गरि परीक्षा केन्द्रहरूमा खटाईएको शिक्षा समन्वय ईकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिएका छन् ।
यस वर्षको एसईई परीक्षामा जिल्लावाट सहभागी हुने विद्यार्थीहरूको संख्या ४ हजार ९ सय ९२ जना रहेका छन। जसमा २ हजार ४ सय २३ छात्रा छन भने २ हजार ५ सय ६९ छात्र रहेका छन् । नियमित साधारण तर्फ ३ हजार ५ सय ९८ जना, नियमित प्राविधिक तर्फ १ सय ३४, ग्रेड वृद्धि साधारण तर्फ १ हजार २ सय १० छन भने ग्रेड वृद्धि प्राविधिक तर्फ ५० जना रहेका छन् । परीक्षा सञ्चालनका लागि स्याङ्जामा २५ परीक्षा केन्द्र तोकिएको छ।
परीक्षामा १ सय ७२ विद्यालय सहभागी हुनेछन् । जसमध्ये १ सय ३७ सामुदायीक विद्यालय छन भने ३५ संस्थागत विद्यालय रहेका छन् ।परीक्षा चैत्र १९ गते मंगलवारसम्म सञ्चालन हुनेछ । साधारण धारको परीक्षा चैत्र १५ गते शुक्रवार सम्पन्न हुनेछ भने प्राविधिक धारको परीक्षा चैत्र १७ गते आइतवार सम्पन्न हुनेछ । ग्रेडवृद्धि तर्फको परीक्षा चैत्र १९ गतेसम्म सञ्चालन हुन सक्ने समेत शिक्षा समन्वय ईकाई स्याङ्जाले जनाएको छ ।
परीक्षा केन्द्रहरूमा सुरक्षा व्यवस्था मिलाउन जिल्लाका सुरक्षा निकायले आवश्यक प्रवन्ध मिलाएका छन् भने परीक्षामा केन्द्राध्यक्ष-२५, सहायक केन्द्राध्यक्ष-४५ निरीक्षक २ सय ६५, परीक्षा सहायक-६२, कार्यालय सहयोगी १ सय १० र ३ सय ७५ सुरक्षाकर्मी गरि कूल ८ सय ८२ जना परिचालन हुने जानकारी दिएका छन् । । परीक्षा शान्तिपूर्ण, मर्यादित तथा निष्पक्ष रूपमा सञ्चालन गर्न आवश्यक पुरै तयारी भएको आचार्यले जानकारी दिएका छन् ।