स्याङ्जा, २७ फागुन । जिल्ला हुलाक कार्यालय स्याङ्जाको अर्ध वार्षिक समीक्षा तथा कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम स्याङ्जा सदरमुकाम स्याङ्जामा सम्पन्न भएको छ ।
जिल्ला हुलाक तथा मातहतका हुलाक कार्यालयहरूको वार्षिक कार्यक्रम र प्रगति विवरण प्रस्तुत गर्दै जिल्ला हुलाक कार्यालय स्याङ्जाका प्रमुख गुरूप्रसाद मरासिनीले हुलाक सेवावाट प्रवाह हुने सम्पूर्ण सेवा चुस्त दुरूस्त र प्रभावकारी रूपले सन्चालन गरिएको वताए ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले हुलाक सेवामा प्रविधिको विकास संगै सेवा प्रवाहमा आएको परिवर्तनले अवसर र चुनौती दुवै थपिएको वताएका छन् । परेवा र घोडावाट सुचना प्रवाह भएको हुलाकको ईतिहास झण्डै १४० वर्ष पछि ईमेल र ईन्टरनेटमा पुगेको छ अवको युगमा अझै विकसित प्रविधिसंग जुध्नुपर्ने थप चुनौती रहेको उल्लेख गरेका थिए ।
जिल्ला हुलाक कार्यालयले चिठि पत्र, हुलाक टिकट लगायत सूचना विभाग, विज्ञापन वोर्ड लोककल्याणकारी विज्ञापनसँगै कार्यालयले केबल टिभी एफएम रेडियोहरूको नवीकरण तथा अनुगमन गर्दै आएको छ । राष्ट्रिय सूचना आयोगले तोकेबमोजिम सूचनाको हक कार्यान्वयनको अनुगमन गरी प्रतिवेदन पेस गर्ने गरिएको समेत जिल्ला हुलाक कार्यालय स्याङ्जाका प्रमुख मरासिनीले जानकारी दिए ।
हाल जिल्ला हुलाक कार्यालयले डाँक व्यवस्थापन र सञ्चालन, हुलाक वस्तु दर्ता एवं रजिष्ट्री, द्रुत डाँक सेवालगायतका काम गर्दै आएको छ । जिल्लामा हाल ११ पालिकामा हुलाक सेवा सन्चालनमा रहेको छ ।
गोष्ठिमा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा आँधीखोला केवल नेटवर्कका सन्चालकलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।