वालिङ, १९ असार ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं.५ का महिलाहरुलाई उत्पादनमा जोड्न बङ्गुरका पाठापाठी वितरण गरिएको छ । स्थानीय बुढाबराजु स्वावलम्वी महिला समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ पाठा वितरण गरिएको हो ।
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगरउपप्रमुख कविता तिवारी गैह्रेले कृषि तथा पशुपालनमा नगरलाई आत्मनिर्भर बनाउ विभिन्न कार्यक्रम गरिदै आएको वताइन् । उनले भनिन्,“विभिन्न संघसंस्थाको सहकार्यमा पालिकाले साना किसानलाई अगाडि बढाउन काम गरिरहेको छ ।”
महिलालाई आर्थिक रुपमा सवल बनाएमा मात्रै ग्रामीण क्षेत्रको विकास सम्भव भएको उनको जिकिर थियो । पालिकाले दीर्घकालिन योजना बनाएर साना किसानलाई अगाडि बढाउने काम गरिरहेको उनको भनाई थियो ।
कार्यक्रम हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम प्रवन्धक प्रेम साम्वयुले स्थानीय सरकारसँग मिलेर महिला तथा युवालाई उद्यमशीलतामा जोड्ने काम गरिरहेको वताए । वालिङ नगरपालिकामा भर्खरै काम सुरु भएको प्रवन्धक साम्वयुको भनाई छ ।
कार्यक्रममा वालिङ नगरपालिकाका पशुसेवा शाखा प्रमुख डा. रोशन बस्यालले बंगुरपालन गर्ने तरिका र यसबाट फाईदा लिन सकिने अवस्थाका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रम अन्तरगत बुढाबराजु महिला स्वावलम्वी समूहका २५ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको हो ।