स्याङ्जा – ५ असार । स्याङ्जाको हरीनाश गाँउपालिकाको आर्थिक बर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न आयोजित १३ ओैं सभा तथा बजेट अधिवेशनमा गाँउपालिका अध्यक्षले मनोमानी गरेको भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले वहिष्कार गरेका छन् ।
अध्यक्ष खिमनारायण मानन्धरले एकलौटी बजेट बिनियोजन गरेको आरोप लागेपछि विवादमा परेको हो । वडा अध्यक्षहरुले सिफारीस गरेका योजनाहरु समेत बजेटमा नसमेटि मनोमानी ढंगले सभामा बजेट पेश भएको भन्दै वडा अध्यक्ष र सदस्यहरुले सभा बहिस्कार समेत गरेको जानकारी दिएका छन् ।
आर्थिक बर्ष २०८०र०८१ को बजेट पेश गर्ने गाउँसभामा स्थानीय सरकार संचालन ऐन २०७४ बिपरीत अपनाउनु पर्ने प्रक्रिया समेत नअपनाएर बहुमतको दम्भ देखाउदै एकलौटी ढंगले बजेट पेस गरिएको आरोप उनीहरुको छ ।
सभामा वडा नं १, २ र ५ का वडा अध्यक्ष सहित १६ जनाले सदस्यले हस्ताक्षर गरेर बजेट पुन संशोधन गर्न माग गरेका छन् । स्थानीय सरकार संचालन ऐनको दफा ७१ को व्यवस्थालाई कार्यन्वयन गरी बजेट गरेर मात्रै गाउँसभा सम्पन्न गर्न उनीहरुले अनुरोध गरेका छन् ।
संशोधन नगरी यही सभाले बजेट पास गरेर कार्यन्वयनमा गएमा अदालत सम्म जाने चेतावनी दिएका छन् ।
वडाका जनताको चाहाना विपरीत गाउँपालिका अध्यक्षले राजनीतिक आवरण देखाएर मनोमानी ढंगले प्रतिपक्षको कुनै सुनुवाई नगर्नु दु:खद भएको वडा अध्यक्ष निर्मल लम्सालले बताए । उनका अनुसार आज पेश भएको बजेट संशोधन नगरी वहुमतको दम्भ देखाए आफ्नो अधिकारको लडाई लड्ने चेतावनी दिएका छन् ।
गाउँपालिकाको १३ औं सभामा झण्डै ४३ करोडको बजेट पेश भएको थियो । गाउँपालिका उपाध्यक्ष इन्द्रकुमारी थापा रानाले १३ औं सभामा उक्त बजेट पेश गरेकी थिइन् । बजेटको पुर्णपाठ सुनाएपछि प्रतिपक्षदल नेपाली काँग्रेस र नेकपा माओवादीका सदस्यहरुले सभा बहिष्कार गरी बाहिरीएका थिए ।
नेकपा एमाले पार्टीबाट पुन दोस्रो पटक निर्वाचित भएका गाउँपालिका अध्यक्ष मानन्धरले आफ्ना पार्टीका कार्यकर्ताले माग गरेको आधारमा बजेट छुट्टाउदै आएको आरोप लाग्दै आएको छ ।
नगरसभामा एमालेको बहुमत छ, भन्दैमा गाँउपालिका प्रमुख एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याउन खोजिएको आरोपसहित उनिहरुले आजको १३ ओैं नगरसभा बहिष्कार गरेको हो ।