वालिङ-३ असार ।
वालिङ नगरपालिकाले सडक पेटीमा समान राखेर पैदल यात्रीलाई भईरहेको कठिनाइ र बजारको सुन्दरता वढाउन सडक पेटीमा राखेको अवरोध हटाउने भएको छ ।
सडक पेटीमा राखेर व्यापार व्यवसाय सन्चालन गरिरहेका व्यापारी, निर्माण सामाग्री, ठेला गाढा जस्ता सामाग्री हटाउन नगरपालिकाले १५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाको जानकारी गराउदै नगर उपप्रमुख कविता तिवारीले आज बजार अनुगमन गरेकी छन् ।
नगरपालिकाको वडा नं. ८,९ र १० को मुख्य बजार क्षेत्रमा अनुगमन सहित सडक पेटीमा सामाग्री नराख्न अनुरोध गरिएको छ । अनुगमनमा
इलाका प्रशासन कार्यालय वालिङ, वडा प्रहरी कार्यालय वालिङ, सशस्त्र प्रहरी बल ३० नंं गुल्म लगायतको सहभागितामा बजार व्यवस्थापन सम्बन्धमा अनुगमन गरिएको नगरपालिकाका प्रेस संयोजक मणि अर्यालले जानकारी दिए ।
अनुगमनका क्रममा उप प्रमुख तिवारीले बजारको सौन्दर्यता बचाइराख्न सबैको सहयोग आवश्यक रहेको बताइन । उनले व्यापारिक प्रयोजनको लागि राखिएका सामग्रीहरुको उचित व्यवस्थापन हुन नसक्दा बजार अव्यवस्थित बन्नुका साथै सौन्दर्यतामा कमी भएको गुनासो आएकोले नगरले योजना अनुरुप नै अनुगमन र व्यवस्थापनमा जुटेको जानकारी दिइन ।
उपप्रमुख तिवारीले पसलको सटर भन्दा वाहिर सामान राख्दा पैदल यात्रीलाई असहज भईरहेको साथै सवारी आवागमनमा समेत अवरोध भएका कारण दुर्घटना को जोखिम समेत भएकाले सवैले सहयोग गर्न आग्रह गरिन् ।
अनुगमनको पहिलो चरणमा प्रत्येक पसलहरुमा पुगी व्यापारीहरुलाई सचेत गराईएको नगरपालिकाले जनाएको छ । दोस्रो चरणमा नगरपालिकाले जारी गरेको बजार व्यवस्थापन सम्बन्धी सुचना अवज्ञा गरेको पाइएमा २० प्रतिशत जरिवाना गरिने तथा पटक पटक अवज्ञा गरिएको पाइएमा समान जफत गरिने पनि जानकारी दिएको छ ।