स्याङ्जा, १६ भदौ
प्रचलित ऐन तथा कानुन विपरित वालिङ स्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको सम्पत्तिमा सरकारी निकायदेखि सहकारी संस्थाको रजाई भएको पाइएको छ ।
शिक्षा ऐन तथा नियमावलीले विद्यालयको नाममा रहेको जग्गा सार्वजनिक सम्पत्ति मानी बिक्री वा धितो राख्न भाडामा लगाउन बन्देज गरेको छ । तर ऐन–कानुनविपरीत पूर्णामृत माध्यमिक विद्यालयले विद्यालयको स्वामित्वमा रहेको जग्गा भाडामा लगाइएको छ ।
जिल्लामै सम्पत्तिको हिसावले धनी विद्यालयको जग्गामा नगरपालिकादेखि शसस्त्र प्रहरीको कव्जामा रहेको पाइएको छ । भने घुमाउरो गरी सहकारी संस्थालाई हाटबजार सन्चालन गर्न समेत दिइएको छ ।
हाल पूर्णामृत भवानी माध्यमिक विद्यालयको नाउँमा २४ कित्ता जग्गामा झण्डै १ सय ७० रोपनी जग्गा मध्ये वालिङ १ स्थित मजुवामा रहेको ७ कित्ता ३३ रोपनी जग्गा वालिङ नगरपालिकाले पाँच वर्षका लागि भाडामा लिएर स्थायी संरचना सहितको फोहरमैला व्यवस्थापनका लागि सरसफाई केन्द्र सन्चालन गरिरहेको छ । उक्त जग्गाको सम्झौता सकिएको विद्यालयका प्रधानाध्यापक पर्शुराम लम्सालले जानकारी दिए ।
वालिङ नगरपालिका वाड नं ८ घ्याङलिङ स्थित २९ रोपनी जग्गा द्वन्दकालवाटै सशस्त्र प्रहरीले कव्जा गरेको छ । सशस्त्र प्रहरीलाई स्थायीरुपमा राख्न उक्त जग्गा नगरपालिकाले सशस्त्रको नाममा दिन गृहमन्त्रालयमा निर्णय गरी पठाएको थियो । विद्यालयले विरोध जनाएपछि उक्त जग्गा सशस्त्र प्रहरीको नाउँमा जानवाट रोकिएको समेत लम्सालले जानकारी दिए । उक्त जग्गा हाल पनि सशस्त्र प्रहरीकै कव्जामा रहेको छ ।
वाड नं ८ स्थित अर्को भत्तेविरौटाको १ रोपनी २ आना २ दाम जग्गा वडा कार्यालयसंग भाडा सम्झौता गरेको देखिएको छ । उक्त जग्गा मासिक २५ हजार विद्यालयले पाउनेगरी पाँच वर्षका लागि वडा कार्यालयले सम्झौता गरेपनि हालसम्म भाडा नपाएको विद्यालयले जानकारी दिएको छ । वडा कार्यालयमा पटक पटक भाडा माग गर्दा भाडा नपाएको लम्सालले गुनासो गरे ।
विद्यालयको पश्चिम पट्टि पूर्व वडा अध्यक्ष अनन्तराज गैह्रेले विद्यालयको जग्गा मासेर आफ्नो घडेरी बनाएको आरोप लगाएका छन् । उनका अनुसार ७ रोपनी जग्गामा वाटो खोलेर क्षतविक्षत गराएको उनले वताए ।
सरकारी विद्यालय सरकारकै नीति नियम अनुसार चल्नुपर्छ राज्यकोषबाट चल्ने भएकोले सरकारी विद्यालयको दायित्वमा रहेका सबै सम्पत्तिको संरक्षण गर्ने जिम्मा विद्यालय प्रशासन र व्यवस्थापन समितीको हो । वालिङकै गहनाको रुपमा रहेको पुरानो शैक्षिक संस्थाको सम्पत्ति संरक्षणमा नगरपालिका र विद्यालय प्रशासन जिम्मेवार नभएको नागरिकले गुनासो गरेका छन् ।
विद्यालयको जग्गामा अबैध संरचना निर्माण
पूर्णामृत भवानी माध्यमिक विद्यालयको जग्गामा अवैध संरचना निर्माण भएको खुलासा भएको छ ।
वालिङ नगरपालिका वाड नं ८ स्थित पतञ्जली योग समिती संगै जोडिएको विद्यालयको नाउँमा रहेको कित्ता नं १३९ को १ रोपनी २ आना २ दाम १ पैसा जग्गामा हरितज्योती गौरव कृषि सहकारी संस्थाले हाटबजारको नाममा संरचना निर्माण गरेको खुलेको छ ।
उक्त जग्गा विद्यालयले वालिङ नगरपालिका वाड नं ८ वडा कार्यालयलाई २०७६ साल भदौ ३० गते मासिक २५ हजार भाडा पाउनेगरी कृषि हाटबजार सन्चालनका लागि पाँच वर्षका लागि सम्झौता गरेको हो । उक्त जग्गामा हरितज्योती गौरव कृषि सहकारीले विभिन्न निकायवाट अनुदान जुटाई संरचना निर्माण गरी भाडामा लगाएको खुलेको छ ।
अनुदानको रकमवाट कुनैपनि सार्वजानिक सम्पत्तिमा स्थायी संरचना निर्माण गर्न पाइदैन । पाँचवर्ष वडा कार्यालयले भाडा सम्झौता गरेको जग्गामा हरितज्योतीले संरचना गराउन वडा कार्यालय संग कुनै सम्झौता वा निर्णय भेटिदैन । हरितज्योतीले टहरा निर्माण गर्न र सटर भाडामा लगाउन पाउने आधिकारिताका वारेमा वडा कार्यालयले समेत चासो राखेर पत्राचार गरिएको वडा अध्यक्ष दामोदर तिवारीले जानकारी दिए ।
वर्तमान नगर प्रमुख कृष्ण खाँण आफै अध्यक्ष रहेको हरितज्योती गौरव कृषि सहकारी संस्थाले हाटबजारको नाउँमा निर्माण गरेको संरचना कतै अवैध त छैन, आम जनताले प्रश्न गरेका छन् । उक्त संरचनाको आधिकारिकता र कतै अनुदानका लागि किर्ते कागजात त गरिएको छैन हाम्रो खोजी रहने छ ।