अमृत अर्याल
स्याङ्जा, २७ माघ ।
तेस्रो लहरको कोराना संक्रमण स्याङ्जामा बिस्तारै घट्दै छ । संक्रमणको दर घट्न थालेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जारी गरेको आदेशमा पनि केही खुकुलो बनाएको छ ।
पौष २५ गतेबाट माघको २५ सम्म आइपुग्दा एक महिनाको अन्तरालमा संक्रमण दर निकै घट्दो रुपमा देखिएकाले प्रशासनले जारी गरेको स्मार्ट लकडाउनमा केही खुकुलो पारेको हो । शुरुमा निकै तिव्र गतिमा फैलिएको संक्रमण एक महिनाकै अन्तरालमा ओरालो लागेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।
पौषको अन्तिम सातादेखी सुरु भएको स्मार्ट लकडाउन माघ २५ गतेदेखी केही खुकुलो हुनेगरी जिल्ला प्रशासनले नयाँ आदेश जारी गरेको छ ।
विद्यालय, होटल, जिमखाना, बिवाह, व्रतबन्ध, भेला, गोष्ठि, यातायात सेवा लगायत प्रशासनिक सेवामा स्मार्ट खालको लकडाउन गरिदै आएको थियो । माघ २५ गते राती १२ बजेदेखी लागु हुनेगरी प्रशासनले नयाँ आदेश जारी गरेको छ ।
आदेश अनुशार फागुन १ गतेदेखी विद्यालय संचालन गर्न पाईने भएको छ । जसमा १२ बर्षभन्दा माथीकाको नियमित र १२ बर्ष भन्दा मुनीका विद्यार्थीलाई आलोपालो हुने गरी विद्यालय संचालन गर्न सकिने प्रशासनले जनाएको छ ।
स्याङ्जामा अनलाईन कक्षा मार्फत पढाई हुदै आएको थियो । अर्को तर्फ पाटी प्यालेसमा हुने कार्यक्रममा ५० जना भन्दा बढी भेला हुन नपाईनेमा माघ २५ गतेदेखी १ सय जना सम्म भेला हुन पाईने भएको छ ।
खेलकुद, होटल रेष्टुरेन्ट र सवारी साधनहरुमा अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरिएको छ । सिटक्षमता भन्दा बढी यात्रु राख्न नपाईने र सबै यात्रुले यात्रा गर्दा अनिबार्य मास्क प्रयोग गर्न प्रशासनले आदेश गरेको छ ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जारी गरेको आदेशमा स्वास्थ्य मापदण्ड अपनाउन र संक्रमणबाट बचाउन साथै बच्नका निमित्त सबै जिल्लावासी सजग रहन आग्रह गरिएको छ । सेवा प्रदायक कार्यालय, सरकारी कार्यालय लगायतमा सेवा लिदा खोपकार्ड भने अनिबार्य गरिएको छ ।
दैनिक १ सय देखी १ सय ५० सम्म संक्रमित देखिन थालेको स्याङ्जामा पछिल्लो समय दैनिक १५ देखी २५ सम्म मात्र संक्रमित देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले बताइन ।
जिल्लामा एक महिनाको अन्तरालमा १ हजार ६ सय २९ जना कोरोना संक्रमणबाट संक्रमित भएका छन् भने ५ जनाले कोभिडबाट ज्यान गुमाएका छन् । कोभिडबाट मात्रै भन्दा पनि अन्य सरुवा रोगबाट बच्न शर्माले जिल्लावासीलाई आग्रह गरेकी छन् । भारतसगँ जोडिएका जिल्लासगँको सिमानामा स्याङ्जा रहेकाले अझै जोखिम हुन सक्ने तर्फ ध्यानाकर्षण गर्दै आफ्नो आनीवानीमा सुधार गर्न शर्माको सुझाव छ ।