वालिङ, २७ माघ ।
वालिङ नगरपालिकाले आप्रवासी प्रोफाईल निर्माणको तयारी थालेको छ ।
नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा वालिङ नगरपालिकाको आप्रवासी प्रोफाईल तयारीका लागि गणकहरुलाई तालीम दिएर परिचालन गरेको हो ।
वालिङ नगर भित्रका नागरिकहरु वैदेशिक रोजगारीमा गएका वा गएर फर्केकाहरुको तथ्याङ्क संकलन गर्ने, उनीहरुमा रहेको सीप, योग्यता लगायतका विवरण संकलन गरिने नगर प्रमुख दिलीप प्रताप खाँणले जानकारी दिए ।
प्रोफाइल निर्माण पश्चात ईच्छुकहरुको नामावली, सीप, क्षमता, योग्यतालाई ‘रोजगार पोर्टल’ निर्माण गरी राख्ने र क्षमता अनुसारको काममा लगाउने योजना समेत रहेको खाँणले बताए । ‘रोजगार पोर्टल’मा ईच्छुकहरुको नामावली राखे सँगै उद्योग तथा कलकारखानाहरुलाई आवश्यक पर्दा कामदारहरु चाहिएमा सहज र सुलभ रुपमा उपलब्ध गराउन सकिने छ ।
“वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाहरुको सीप, क्षमताको विवरण ‘रोजगार पोर्टल’मा उल्लेख गरिन्छ” खाँणले भने, “सोही पोर्टलमा उद्योग तथा कलकारखानाले आवश्यक पर्ने जनशक्तिको पनि विवरण राखिने छ, जसले गर्दा कामदारले काम पाउने र उद्योगले कामदार पाउन सहजहुने छ ।”
वालिङका कति नागरिकहरु वैदेशिक रोजगारीमा छन्, कति फर्किएका छन्, फर्किएका वालिङका नागरिकहरुको स्थिति के छ भन्ने बुझ्नका लागि १४ वटै वडामा गणकहरु खटाईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।
“एक महिनासम्म १७ जना गणकले गाउँ गाउँमा पुगेर विवरण सङ्कलन गर्नेछन । ‘कोभो एप्स’ को प्रयोग गरेर गणकहरुले डिजिटल प्रविधिबाट तथ्याङ्क सङ्कलन हुनेछ । वैदेशिक रोजगारीमा गएका नागरिकहरुले पठाउने रेमिट्यान्स र घरपरिवारले त्यसको प्रयोग के काममा गरेका छन् भन्ने विवरण समेत गणकहरुले घर घरमै पुगेर भर्ने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।
१७ जना गणकहरुलाई दुर्इ दिने तालीम दिएर बुधबार बाट वडा÷वडामा जिम्मेवारी दिएर पठाईएको सुरक्षित आप्रवासन परियोजना (सामी) स्याङ्जाका कार्यक्रम संयोजक एकनारायण सापकोटाले जानकारी दिए ।