काठमाडौं । महाकाली नदी पार गर्ने क्रममा तुइनबाट खसेर ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको घटनामा भारतले आफ्ना सुरक्षाकर्मीको संलग्नता नरहेको जनाएको छ ।
शनिवार दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले एसएसबीको संलग्नता अस्वीकार गरेका हुन् ।
दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा एसएसबीका जवानले तुइनको डोरी काटेपछि धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।
जिल्ला प्रशासन कार्यलय दार्चुलाले जनाए अनुसार घटनाको सम्बन्धमा भारत पक्षबाट पत्र प्राप्त भएको र त्यसमा एसएसपीको कुनै संलग्नता नभएको लेखिएको छ ।
पत्रमा उल्लेख भए अनुसार एसएसपी घटनास्थल पुग्नु अगावै सो दुर्घटना भएको दावी गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।