स्याङ्जा, २८ असार ।
विघटित संसद पुर्नस्थापना गरेको सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै स्याङ्जामा दिपावली गरिएको छ । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गरेको दोस्रो पटकको संसद विघटनको सिफारिस बदर गर्दै सर्वोच्चले सोमबार संसद पुर्नस्थापनाको फैसला गरेको थियो ।
सर्वोच्चको फैसलाको स्वागत गर्दै नेपाली कांग्रेस स्याङ्जाद्वारा पुतलीबजार, भीरकोट, वालिङ र गल्याङमा पार्टी र पार्टी निकट विद्यार्थी संघ र तरुणदलले दिपावली गरेका हुन् ।
सोमबार साँझ गरिएको दिपावली कार्यक्रममा सहभागी वक्ताहरुले सर्वोच्च अदालतले गरेको निर्णयले न्यायलय प्रति जनताको विश्वास कायम राखेको धारणा व्यक्त गरेका थिए ।
गल्याङमा आयोजित दिपावली कार्यक्रममा नगर सभापती श्यामप्रसाद वश्यालले सर्वोच्चको फैसलाले नेपालको बिग्रदो राजनीतिक प्रबृत्तिलाई सच्याउन मद्दत गरेको बताए । उनले प्रधानमन्त्रीको तानाशाही प्रबृत्तिलाई सच्याउन यो फैसलाले सहयोग गर्दै संविधानको रक्षा गरेको पनि बताए ।
त्यसैगरी नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेले सर्वोच्चको फैसलाले बिग्रदै गएको नेपाली राजनीतिलाई सही दिसा दिन मद्दत पुग्ने बताए । उनले सर्वोच्चको फैसलाले केपी ओलीको हार भएको भन्दा पनि समग्र नेपाली जनताको जित भएको खुसीयालीमा दिपावली गरिएको बताए ।
कार्यक्रममा काँग्रेस नेता लालगोपाल अर्याल, महाधिवेशन प्रतिनिधि गुरु भट्टराई लगायतले सर्वोच्चको फैसला नेपाली जनताको हितमा रहेको उल्लेख गरेका थिए ।