स्याङजा, ११ असार ।
पुतलीबजार नगरपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट बिहीवार सार्वजनिक गरेकोे छ । नगरपालिकाले नवौं नगरसभा मार्फत आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट नगर प्रमुख सिमा क्षेत्रीले सार्वजानिक गरेकी हुन् ।
नवौं नगरसभा विपक्षीदल कांग्रेसले बहिष्कार गरेको छ । कार्यपालिकाको अनुमोदनबिनै बजेट पेस गरेको, वडा समितिमार्फत सिफारिस योजनाहरु नसमेटेको, राजनीतिक रुपमा विभेद गरेको भन्दै कांग्रेस तर्फबाट निर्वाचित ४ वडाध्यक्षसहित २० जना नगरसभा सदस्यले नगरसभा बहिष्कार गरेका हुन् ।
पुतलीबजार नगरपालिका वाड नं ९ का अध्यक्ष रामचन्द्र रेग्मीले संविधान, स्थानीय सरकार सञ्चालन ऐन र नगरपालिकाको भावना र मर्म विपरीत अवैधानिक बजेट आएकोले बहिष्कार गरेको बताए । बजेट विनियोजनमा वडावाट पास भई आएका योजनालाई वेवास्ता गरी आफूखुसी एकलौटी योजना वनाइएको विषयमा ध्यानाकर्षण गर्दा समेत सुनुवाई नभएको र नगरस्तरीय योजना कार्यपालिकामा छलफल नगरी एकैचोटी सभामा पेश गरिएको प्रति विरोध गरिएको हो ।
कर्मचारी समायोजनको विषय विधायन समितीवाट पास गरी कार्यपालिका मार्फत सभामा पेश गरिनुपर्नेमा गलत वाटोवाट राजनीतिक पूर्वाग्रहवाट ल्याइएको हुँदा नगर प्रमुख र उपप्रमुखले आगामी निर्वाचनलाई लक्षित कार्यक्रम मात्र बनाउन खोजेकाले नगरसभा हामी काँग्रेस पक्षवाट वहिष्कार गरेको उनले जानकारी दिए ।
स्वेच्छाचारी ढंगले र कार्यकर्ता लक्षित गरी एमालेका तर्फबाट निर्वाचित नगरप्रमुख, उपप्रमुखले बजेट, नीति तथा कार्यक्रम तय गरेको कांग्रेसको आरोप छ । नगरसभा बहिष्कारको विषयमा शुक्रवार छलफलका लागि नगर प्रमुखले वोलाएको सहमती हुन नसके पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने वडाध्यक्ष रेग्मीले जानकारी दिए ।
नगरपालिकाले समृद्ध पुतलीबजार, सुखी नगरबासीको मूल लक्ष्यलाई पुरा गर्न पूर्वाधार विकास, कृषि, उद्योग, ब्यापार, पर्यटन, सुशासन, स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्र लगायतलाई नगरपालिकाकोे नीति तथा कार्यक्रममा समावेश गरेको जनाएको छ ।
नगरपालिकाद्धारा सदरमुकाममा आयोजित नवौ नगरसभा मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख सीमा क्षत्रीले सुन्तलाको शहर, एक टोल एक नर्सरी, एकघर एक करेशावारी, आधीखोला, अरौदीखोला र बाडखोलाको संगमस्थलमा त्रिवेणीधाम, होमस्टे, उद्योग ब्यवासाय, सहकारी, स्वास्थ्य, शिक्षा, उद्यमशिलता, रोजगारी र उत्पादन वृद्धि, हुन्छ नगरपालिकाको समृद्धि, कर डर होईन, नगर विकासको भर हो, पुतलीबजार नगर उज्यालो शहर र स्वच्छ पुतलीबजार कार्यक्रमलाई प्राथमीकतामा राखेको बताईन।
यसैगरी, नगरसभामा ८७ करोड २२ लाख ७० हजारको बजेट प्रस्तुत भएको छ । उपप्रमुख महेश पुरीले नगर सभामा आर्थिक वर्ष २०७८/७९ का लागि ८७ करोड २२ लाख बजेट प्रस्तुत भएको हो । चालु खर्च तर्फ ५१ करोड ४३ लाख १२ हजार र पुँजीगत खर्च तर्फ ३७ करोड ७९ लाख ५८ हजार रहेको उहाले जानकारी दिए ।
बजेटमा नगरपालिकाले कृषि, सहकारी, उद्योग तथा वाणिज्य, पर्यटन, पशु विकास, वडा विकास, राजश्व परिचालन अभिवृद्धि र रोजगारी सिर्जना तथा स्वरोजगार कार्यक्रम अनुरुप बजेट विनियोजन गरेको छ । त्यसैगरी सामाजिक विकास क्षेत्र तर्फ शिक्षा विकास, युवा विकास, खेलकुद विकास, स्वास्थ्य, महिला विकास, गरिवी निवारण कार्यक्रम, भुमि व्यवस्था निति तथा कार्यक्रमा बजेट छुट्याईएको छ ।
सभा मार्फत भौतिक पूर्वाधार विकास क्षेत्र तर्फ घरनक्सा पास, बन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, फोहोर मैला व्यवस्थापन, उर्जा विकास, सुशासन अभिवृद्धि, संस्थागत विकास र न्याय तथा मेलमिलापलाई रकम विनियोजना गरिएको जनाईएको थियो । सुन्तलाको शहर, एक टोल एक नर्सरी, एक घर एक करेसाबारी, त्रिवेणी धाम, उद्यमशिलता, रोजगारी र उत्पादन वृद्धि, हुन्छ नगरपालिकाको समृद्धि, पुतलीबजार नगर उज्यालो शहर र स्वच्छ पुतलीबजार कार्यक्रमलाई प्राथमीकतामा राखी बजेट प्रस्तुत भएको छ ।
नगरसभामा पुतलीबजार नगरपालिकाका नगर प्रवक्ता ख्यामनारायण अधिकारीले वन तथा वातारण व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका थिए । सुशासन समितिका संयोजक ओमबहादुर खड्काले कर्मचारीहरुको व्यवस्थापन गर्न बनेको बिधेयक, लेखा समितिका संयोजक रविविक्रम केसीले लेखा समितिको प्रतिवेदन र भौतिक पूर्वाधार व्यवस्थापन समितिका संयोजक अमृत श्रेष्ठले स्थानीय सडक मापदण्ड बारेकोे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बजेट बाहेकका प्रतिवेदनलाई नगर सभाले पारित गरेको छ ।