हिमदुत सम्वाददाता
स्याङ्जा, २ असार ।
लगातारको वर्षाका कारण पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने विश्वकै ठूलो शालिग्राम शिला र सेतीवेनी बजार डुबानमा परेको छ । कालीगण्डकी नदीमा आएको वाढीका कारण सेतीवेनी बजार डुवानमा परेपछि ८ घर पुर्णरुपमा क्षति हुन पुगेको छ भने २४ घर परिवार विस्थापित भएका छन् ।
कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरुपमा डुबानमा परेको स्थानीयवासीले वताएका छन् । सेतीवेनी बजार डुवानमा परेपछि प्रहरी, रेडक्रस, जनप्रतिनिधि र स्थानीय मिलेर उद्धार कार्यमा जुटेका छन् ।
वाढीका कारण गल्याङ न.पा. ५ सेतिबेणि बस्ने केश बा.क्षेत्रीको ढुङ्गामाटोले बनेको दुई तले कच्ची घर, केशराज न्यौपानेको ३ तले कच्ची घर, ठाकुर प्रसाद श्रेष्ठको २ तले कच्ची घर, रेशमराज न्यौपाने २ तले कच्ची घर, लक्ष्मीपती न्यौपानेको २ तले कच्ची घर, गुरु बहादुर क्षेत्रीको २ तले कच्ची घर, तेजतराम काफ्ले २ तले कच्ची घर, त्रिबिक्रम हेजुको २ तले कच्ची घर पुर्ण रुपमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
वाढीका कारण यी क्षतिग्रस्त घरका २४ परिवार विस्थापित वन्न पुगेका छन् भने हालसम्म कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।