सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी हुन नेपाली कांग्रेसले दुई जना सांसदको नाम टुंगो लगाएको छ । कांग्रेसले प्रदेशमा पहिलो पटक कर्णालीबाट सत्ता साझेदारी गरेको हो ।
शुक्रबार साँझ बसेको कांग्रेस संसदीय दलको बैठकले सामाजिक विकासमन्त्रीमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा जुम्लाका दिनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । कर्णालीमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन् । कांग्रेसले दुई जनाको नाम शाहीलाई सिफारिस गरिसकेको छ ।
कर्णालीमा आज साँझ मन्त्रीपरिषद्को बैठक बस्दैछ । बैठकले बीसी र श्रेष्ठलाई मन्त्रीमा नियुक्ति गरेर सपथ गराउने तयारी छ ।
कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीका लागि १३ बुँदे आचारसंहिता जारी गरेको छ । मन्त्रीहरुले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता र सादा जीवनशैली अपनाउनु पर्ने आचारसंहितामा उल्लेख छ ।
‘दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने जारी आचारसंहितामा लेखिएको छ ‘मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्न पनि कांग्रेसले प्रतिबन्ध लगाइएको छ ।’
कर्णालीमा माओवादीका मुख्यमन्त्रीसहित ३ जना, एमालेबाट फ्लोर क्रस गरी कारबाहीमा परेका ३ जना र कांग्रेसबाट २ जना मन्त्री हुनेछन् ।