काठमाडौँ । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र स्वाथ्यकर्मीमाथि नेकपा एमालेका नेता/कार्यकर्ताले आक्रमण गरेपछि चौतर्फी विरोध भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरूले आक्रमणकारीमाथि कारबाही माग गर्दै विरोध जनाए ।
अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले स्वस्थ्यकर्मी र चिकित्सकमाथि आक्रमण गरेपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दा पनि आक्रमण सह्य नहुने बताए । ओलीले महामारी विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीमाथि हुने आक्रमणलाई ड्युटीमा हुने सुरक्षाकर्मीमाथिको आक्रमण सरह मानिनेछ बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्नेतर्फ पनि संकेत गरेकी छन् । ‘दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ,’ उनले भनेकी छन् । स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा राष्ट्र प्रमुखले दुःखको बेला भावनात्मक उत्तेजना हुनसक्छ भनेर अपराधलाई सामान्यीकरण गर्ने प्रयास गरिएको भन्दै आलोचन सुरु भएको छ ।
‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ’ राष्ट्रपति भण्डारीले ट्वीट गरेकी छन् ‘दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ । यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’
आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ। दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।— Bidya Devi Bhandari (@PresidentofNP) May 28, 2021