काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतीले आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।
बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै भने, ‘नेपालको पछिल्लो घटनाक्रमलाई भारतले ध्यानपूर्वक हेरेको छ । पछिल्लो राजनीतिक समस्या नेपालले आन्तरिक रुपमा प्रजातान्त्रिक प्रकृयाद्वारा समाधान गर्नुपर्छ ।’
यस्तै एक छिमेकी मुलुक भएका नाताले भारतले सधैं नेपालको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा समर्थन गर्ने पनि विदेश मन्त्रालयले उल्लेख गरेको छ ।
नेपालको आन्तरिक मामिलामा बारम्बार छिमेकी मुलुक भारतले हस्तक्षेप गर्ने गरेको आरोप खेप्दै आएको भारतले नेपालको पछिल्लो संसद विघटन आन्तरिक मामिला भएको भन्दै पन्छिएको छ ।
यस्तै, नेपालका लागि भरतीय पूर्वराजदुत रञ्जीत रायले नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा भारत मुखदर्शक भएर बस्न नमिल्ने विचार व्यक्त गरेका थिए ।