हिमदुत डेक्स
स्याङ्जा -११, जेठ ।
नेपाल सरकार सत्ताको गोलचक्करमा रहदै गर्दा कोरोना संक्रमण नियन्त्रण, खोप खरिद प्रकृया विलम्व हुँदा स्थानीय तहमा कोरोना संक्रमणको दर दैनिक वढदो छ । संक्रमण नियन्त्रणको एक मात्र विकल्पको रुपमा रहेको खोप संघीय सरकारवाट पाउने आशा नदेखेपछि स्थानीय तहवाटै धमाधम खोप खरिद अनुमतीका लागि संघीय सरकार संग माग गर्न थालेका छन् ।
पाल्पाको रामपुर नगरपालिका, स्याङ्जाको वालिङ नगरपालिका र पर्साको विरगंज महानगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई पत्र लेख्दै कोरोनाको खोप किन्न अनुमति मागेका हुन ।
वालिङ नगरपालिकाका मेयर दीलिप प्रताप खाँणले मन्त्रालयलाई लेखेको पत्रमा बाहिरबाट खोप खरिदका लागि अनुमति माग गरिएको छ। ‘वालिङ नगरपालिकाका नागरिकबाट भ्याक्सिनको धेरै माग भएकाले मन्त्रालयबाट तत्काल उपलब्ध गरादिनुहुन अनुरोधका साथै यदि तहाँबाट उपलब्ध गराउन नसकेमा यस नगरपालिकाले आफ्नै खर्चमा मापदण्डअनुसार भ्याक्सिन खरिद गर्न अनुमति प्रदान गर्न अनुरोध छ,’ मेयर खाँणले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ।
वालिङ नगरपालिकाले २० हजार डोज खोप माग गरेको खाँणले नेपाल समयलाई बताए। ‘तत्काललाई २० हजार डोज भ्याक्सिन आवश्यक देखिएको छ,’ मेयर खाँणले भने, ‘संक्रमणको दर हेरेर यो बढ्न पनि सक्छ।’
वालिङ नगरपालिकाका नागरिकले छिटोभन्दा छिटो खोप उपलब्ध गराउन बारम्बार माग गरेकाले मन्त्रालयसँग भ्याक्सिन खरिदको अनुमति माग गर्नुपरेको उनको भनाइ छ। ‘खोप चाहियो भनेर फोन आएका आएकै छन्,’ खाँणले भने, ‘हुनेले पैसा तिरेर पनि लगाउन खोजेका छन्, नहुनेलाई निस्शुल्क गरिदिनुस् भनेका छन्।’मन्त्रालयबाट अनुमति पाए खोप खरिदका लागि आवश्यक प्रक्रिया पूरा गरिएको समेत वालिङको भनाइ छ।
पाल्पाको रामपुरले पनि खोप खरिदको तयारी अघि बढाएको बताएको छ। रामपुरका बासिन्दाले भारतका विभिन्न प्रान्तसँग खोप खरिदको तयारी अघि बढाएका हुन्। मन्त्रालयबाट अनुमति पाए प्रक्रिया अघि बढाइने रामपुर नगरपालिकाले जानकारी दिएको छ।
प्रचलित ऐनरनियमावली र मापदण्डको परिधिभित्र रही यसअघि नेपाल सरकारले खोप खरिद गरेको मूल्य र तोकिएको मापदण्ड बमोजिम कोभिड(१९ विरुद्धको ५० हजार डोज खोप खरिद गर्ने कार्यका लागि नगरपालिकालाई अनुमति प्रदान गरिदिनुहुन रामपुर नगरपालिका, पाल्पाका सम्पूर्ण नागरिकहरूको तर्फबाट अनुरोध छ, मेयर रमण बहादुर थापाले स्वास्थ्य मन्त्रीलाई लेखको पत्रमा उल्लेख छ। रामपुर नगरपालिकाले भने संविधानको व्यवस्था स्मरण गराउँदै खोप खरिदको लागि अनुमति दिन स्वास्थ्यमन्त्रीसँग माग गरेको हो। रामपुर नगरपालिकाले ५० हजार डोज खोप माग गरेको छ।
ुनेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हक मौलिक हकको रूपमा स्थापित गरिएको र अनुसूची ८ मा आधारभूत स्वास्थ्य स्थानीय तहको अधिकारको सूची एवं अनुसूची ९ मा स्वास्थ्य साझा अधिकारको सूचीमा उल्लेख भएअनुसार नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराई नागरिकहरूको जिउज्यानको सुरक्षा दिनु राज्यका तीन तहको मुख्य दायित्व रहेको अवगत गराउँदछु,ु मेयर थापाले मन्त्रालयमा पठाएको पत्रमा उल्लेख छ।
वालिङले पनि भारतबाटनै खोप खरिदका लागि समन्वय गरिरहेको मेयर खाँणले जानकारी दिए। भारतबाट सम्भव नभएमा नेपालकै ऐजेन्टबाट पनि खोप खरिदका लागि छलफल भइरहेको उनको भनाइ छ। ‘सुरज वैद्यजीको कम्पनीसँग कुरा भएको छ, उहाँले चार डलरमा ल्याएर, ढुवानी खर्च जोडेर दिन सकिने भन्नु भएको छ,’ खाँणले भने, ‘सरकारले अनुमति दिएमा हामी यी दुवै विकल्पमा जान सक्छौं।’
सरकारले अहिले एकद्वार प्रणालीमार्फत् खोप वितरण गरेकाले आँफै खोपको व्यवस्था गर्न समस्या परेको उनले सुनाए। उनले कि त सरकारले तत्काल खोपको लागि पहल गर्नुपर्ने कि त स्थानीय तहलाई खोप खरिद र वितरणका लागि अनुमति दिनुपर्ने माग समेत गरे।
वालिङ् नगरपालिका कोरोना संक्रमणले आक्रान्त भइसकेको भन्दै खाँणले यसलाई छिटोभन्दा छिटो सम्बोधन नगरे परिस्थिति झन् जटिल बन्दै जान सक्ने बताए। नगरपालिकाका गाउँगाउँमा सँक्रमित छन्। गाउँका अधिकांश व्यक्तिमा कुनै न कुनै लक्षण देखिएको छ,’ मेयर खाँडले भने, ‘ परीक्षण गराउन पनि पर्याप्त सामग्री र सुविधा छैन। खोप मात्रै अन्तिम विकल्प भयो। उनले परीक्षण किट भन्दा खोप सस्तो पर्ने भएकाले पनि खोपमै जोड दिनुपरेको बताए । ‘ एउटा परीक्षण किटलाई ८ सय पर्छ। खोप करिब ५ सयमा आउने रहेछ,’ उनले भने, अब खोपमा जोड दिनुपर्ने देखियो।’
खोप खरिदको लागि रकम अभाव नहुने मेयर खाँडको दाबी छ। नागरिकको स्वास्थ्य रक्षाको लागि खोपमा पर्ने रकम ठूलो नहुने उनको तर्क छ। ‘संघ(प्रदेशले दिएछन् भने हात थापौंला। नत्र हामी आँफै पनि व्यवस्था गर्न सक्छौं,’ खोप खरिद गर्दा लाग्ने खर्चबारे प्रष्ट पार्दै उनले भने।
उता वीरगञ्ज महानगरपालिकाले नगरवासीहरूको जीवन रक्षाका लागि खोप खरिद गर्ने निर्णय गरेको छ । सरकारले खोप समयमा उपलब्ध गराउन नसकेपछि महानगरपालिका आफैले एक लाख डोज खोप खरिदका लागि अनुमति प्रदान गर्न स्वास्थ्य मन्त्री समक्ष माग गरेको वीरगंज महानगरका मेयर विजय सरावगीले जानकारी दिए ।
सरकारले तोकेको सबै मापदण्डहरू पूरा गरेर आफूहरू खोप खरिद गर्न तयार रहेको र सरकारले दिएको मापदण्ड अनुसार नै नगरबासीलाई खोप लगाइने नगर प्रमुख सरावगीले स्पष्ट पारे । नगर प्रमुख सरावगीले अमेरिकी र रसियन खोप राम्रो रहेको र सरकारले अनुमति दिएको खण्डमा मगाएर नगरबासीलाई लगाउने बताए ।
ती देशमा प्राइभेट कम्पनीहरूले नै खोपको डिल गरिरहेको र आफूसँग पनि ती कम्पनीसँग सिम्झौता गर्न सक्ने संयन्त्र रहेको मेयर सरावगीको दाबी छ । महानगरपालिकाले कम्तीमा एक लाख महानगरबासीलाई खोप लगाउने लक्ष्य लिएको उनले बताए ।