पर्वत । नियम उल्लघंन गरी निषेधाज्ञाका समयमा बिहे भोज गर्ने दुईजना बेहुला पक्राउ परेका छन् । पर्वतको जलजला गाउँपालिका–२ मा माझफाँटमा बिहेको भोजको आयोजना गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही गाउँपालिकाका २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियार रहेका छन् ।
मंगलबार बिहे गरेका उनीहरुले बुधबार एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुुसार जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरेपनि उक्त बिहेभोजमा ३०–४० गाउँले भेला भएका थिए । प्रहरी पुगेपछि भोजमा सहभागी भागाभाग भएका थिए । सबै भागेपछि दुईजना बेहुलालाई समातेर आवश्यक कारबाहीपछि छाड्ने प्रहरीले जनाएको छ ।
स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । हाल उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।