काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ ।
उनीहरुबीच सिंहदरबारस्थित संसद् सचिवालयमा छलफल भएको थियो ।
भेटमा पौडेल र नेम्वाङले नेपाल समक्ष प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको चिन्ता र चासो राखेका थिए ।
नेता नेपालले पनि आफ्ना कुरा खुलस्त राखेको भन्दै उनले भने, ‘पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ भन्नेमा विवाद छैन ।’
कसरी समाधान गर्ने ? केके आधारमा सहमति खोज्ने भन्ने छलफलमै रहेको उनले बताए । उनका अनुसार पुनः छलफल गर्ने सहमति भएको छ ।
साथै उनले नेता नेपालसँग सकरात्मक कुराकानी भएको दाबी गरे । उनले छिटै समस्या समाधान गरिने पनि बताए ।
‘कुरा सकरात्मक छ तर सहमति भएन । बाहिर भनेको जस्तो राजीनामा होइन,’ उनले भने, ‘अध्यक्ष ओली र नेपालबीच छलफल र टेलिफोन कुराकानीका आधारमा हामी बसेका हौं । कुनै निष्कर्ष निस्केको छैन ।’
नेपाल समूहले भने आफ्ना माग पुरा नभएको खण्डमा सरकारलाई समर्थन दिन नसकिने बरु सामुहिक राजीनामा दिने चेतावनी दिएका छन् ।
नेकपा एमालेका नेता माधवकुमार नेपाल निकट सांसदहरूले नेता नेपाललाई राजीनामा बुझाइसकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने बताइरहेका छन् । विश्वासको मत लिने अघिल्लो दिन नेकपा एमालेभित्र विवाद उत्कर्षमा पुगेको छ ।
नेता नेपाल पक्षले गत फागुन २८ गते अध्यक्ष ओलीले गरेका निर्णय फिर्ता हुनुपर्ने अडान राखिरहेका छन् ।