काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमणले ज्यान गुमाएकाको शव व्यवस्थापनमा नेपाली सेनालाई भ्याइनभ्याई भएको छ।
मंगलबार मात्र ३६ वटा शवको ब्यवस्थापनका लागि अनुरोध आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। काठमाडौँ उपत्यकामा कोरोना संक्रमणले ज्यान गुमाएकाको अन्तिम संस्कार पशुपतिनाथ परिसरमा हुने गरेको छ।
विद्युतीय शव दाह गृहमा मात्र हुँदै अन्तिम संस्कार हुँदै आएकोमा मृतकको संख्या बढ्न थालेपछि सोमबारदेखि बागमती नदी किनारमा पनि व्यवस्थापन गर्न सुरु भएको छ। हाल पशुपति क्षेत्र परिसरमा कोरोना संक्रमणले ज्यान गुमाएकाको अन्तिम संस्कारका लागि ८ वटा चिता बनाइएको छ। विद्युतीय शव दाहगृहमा एकपटकमा दुई जनाको अन्त्येष्टि गर्न मिल्छ।
‘आज आएका अनुरोधमध्ये अहिलेसम्म १९ जनाको अन्त्येष्टी भइसकेको छ। अब १७ जनाको गर्न बाँकी छ’, प्रवक्ता पौडेलले भने।
कोरोना संक्रमणले ज्यान गुमाएकाको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको छ। मंगलबार पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर ५५ जनाको ज्यान गएको सरकारी तथ्यांक छ।