काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्नेको संख्या ५० हजार नाघेको छ ।
महानगरिय ट्राफिक महाशाखाका प्रवक्ता रामकृष्ण अधिकारीका अनुसार ५० हजार ४ सय ५६ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । अन्य दिनको तुलना अहिले काठमाडौँ छाड्नेको संख्या बढेको उनको भनाई छ । ‘अन्य समयमा काठमाडौँ उपत्यका दैनिक करिब ३८ हजार छाड्थे’ प्रवक्ता अधिकारीले भने ‘अहिले अलि बढी छ ।’ त्यस्तै २४ घण्टामा काठमाडौँ उपत्यकामा ४१ हजार जना भित्रिएका छन् ।
सरकारले लकडाउन गर्ने हल्ला फैलिएपछि काठमाडौँ छाड्नेहरु बढेका हुन् । कलंकी, कोटेश्वर, माच्छापोखरी, गौशालालगायतका स्थानमा गाउँ जान बस चढ्नेहरूको घुइँचो लागेको छ ।
सरकारले सोमबार साँझ बैशाख १६ गतेदेखि १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।