काठमाडौँ– कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनबाट कांग्रेसले इमान्दार र निष्ठावान् नेता गुमाएको बताएका छन्।
‘नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु’, देउवाले फेसबुकमा लेखेका छन्, ‘जोशीजीको निधनले कांग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ।’
सभापति शेरबहादुर देउवाले उनको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।
त्यस्तै, प्रवक्ता विश्वप्रकाश शर्माले नेता नवीन्द्रराज जोशीको निधनबाट देशले असल र कुशल नेता गुमाएको बताएका छन्।
‘तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा। देशले आज एक असल र कुशल नेता गुमाउनुपरेको छ’, प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्।
नेता जोशीको नर्भिक अस्पतालमा शुक्रबार राति निधन भएको अस्पतालले जनाएको छ ।
उपचारमा संलग्न चिकित्सक राजीव झाले शुक्रबार ८ः ३० बजे जोशीको निधन भएको जानकारी दिए । फागुन १४ गते जोशीलाई मष्तिष्कघात भएको थियो ।