
स्याङ्जा, कात्तिक ९ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।
२०८३ कात्तिक ९ गते दिउँसो करिब ४ बजे चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पुर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। प्रहरीका अनुसार दुर्घटनामा परेका आठ जनालाई उद्धार गरी घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको थियो।
दुर्घटनामा घाइते भएकी स्याङ्जाको वालिङ नगरपालिका–२ की नीता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डेको सोही अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदीको अवस्था मध्यम रहेको बताइएको छ।
त्यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङमा बस्दै आएकी गोमता पाण्डेको पाल्पास्थित मिसन अस्पतालमा मध्यम अवस्थामा उपचार भइरहेको छ।
प्राप्त विवरणअनुसार दुर्घटनास्थलमै मृत्यु हुनेमा स्कार्पियो चालक वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङमा बस्दै आएका लोकनाथ पाण्डे, सोही ठाउँकी सीता पाण्डे र बुटवलको खैरेनीमा बस्दै आएका कुलानन्द पाण्डे रहेका छन्।
दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।