
स्याङ्जा, १२ असार — स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमुलस्थित माझकटेरीको म्हाजु भञ्ज्याङ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। पर्यापर्यटनसँगै धौलागिरी, माछापुच्छ्रे लगायत हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिने तथा ग्रामीण पर्यटनको अनुभव लिन पाइने भएकाले दैनिक सयौं पर्यटक त्यहाँ पुग्ने गरेका छन्।
नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुबारी होमस्टे जाने मूल सडक किनारमा रहेको म्हाजु भञ्ज्याङमा शनिबार र आइतबार सार्वजनिक बिदा लागू भएपछि पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको स्थानीयले बताएका छन्। बिदाका दिनमा झण्डै एक हजारभन्दा बढी पर्यटक भञ्ज्याङ पुग्ने गरेका छन्।
आर्थिक वर्ष २०८०/८१ देखि म्हाजु भञ्ज्याङलाई पर्यापर्यटनमार्फत स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित विकास गर्न थालिएको आँधीखोला गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलका अनुसार क्षेत्रमा पर्यापर्यटन उद्यान, म्हाजु स्वागतद्वार, झुला, प्रतिक्षालय तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ।
भञ्ज्याङबाट धौलागिरी, माछापुच्छ्रे लगायत हिमश्रृंखलासँगै पञ्चासे, कोरी र अन्नपूर्ण क्षेत्रका पदमार्गसमेत अवलोकन गर्न सकिन्छ। प्राकृतिक सौन्दर्य र हिमाली दृश्यका कारण आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको स्थानीयको भनाइ छ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै स्थानीय मौलिक स्वादका परिकार र स्थानीय उत्पादनको बिक्रीका लागि कोसेलीघर निर्माण गरिएको छ। कोसेलीघरबाट आगन्तुकले घरेलु उत्पादन खरिद गर्ने क्रम पनि बढेको गाउँपालिकाले जनाएको छ।
आँधीखोला गाउँपालिका र स्थानीय युवाको साझेदारीमा झण्डै १ करोड रुपैयाँको लागतमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ। सार्वजनिक जमिनमा निर्माण गरिएका संरचना भाडामा दिएर ‘इको स्टे’ सञ्चालनमा ल्याइएको वडाध्यक्ष पवनकाजी अधिकारीले बताए। इको स्टेमार्फत १० जना स्थानीय युवाले प्रत्यक्ष रोजगारी पाएका छन्।
म्हाजु भञ्ज्याङसँगै रहेका नवग्रह मन्दिर, डहरेदेउराली, खर्सुको लेक, थाप्ले र दरौ क्षेत्र पनि पर्यटकको आकर्षणका केन्द्र बनेका छन्। ग्रामीण जीवनशैलीको अवलोकन, स्थानीय परिकारको स्वाद तथा पदमार्गमा पदयात्रा गर्न आउने पर्यटकको संख्या बढ्दै गएको स्थानीयले बताएका छन्।

सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा खण्डको भालुपहाड हुँदै नागडाँडाबाट छोटो दूरीको यात्रामा म्हाजु भञ्ज्याङ पुग्न सकिन्छ। नागडाँडा–पञ्चमुल सडक कालोपत्रे भएपछि पर्यटकलाई आवागमनमा सहज भएको र त्यसपछि पर्यटकको संख्या थप बढेको स्थानीयको भनाइ छ।
जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठले भारतीय सीमा सुनौलीबाट सिद्धार्थ राजमार्ग हुँदै पोखरा पुग्ने भारतीय पर्यटकलाई जिल्लाका ग्रामीण पर्यटकीय क्षेत्रमा आकर्षित गर्न सकिए रोजगारी र आयआर्जनमा उल्लेख्य वृद्धि हुने बताए। उनले जिल्लाका पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकको बसाइँ अवधि बढाउन सके आर्थिक गतिविधिमा सकारात्मक परिवर्तन आउने धारणा राखे।