

स्याङ्जा, जेठ २७ ।
गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान पोखराको आयोजना तथा कालीगण्डकी गाउँपालिका को व्यवस्थापनमा १५ दिने घरेलु उपकरण मर्मत सम्बन्धी तालिम सञ्चालन भइरहेको छ।
जेठ २१ गतेदेखि सुरु भएको तालिममा १७ जना सहभागी रहेका छन्। तालिममार्फत सहभागीलाई घरायसी विद्युतीय उपकरणहरूको मर्मत, सञ्चालन तथा सुरक्षासम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको छ।
गाउँपालिकाकी कार्यवाहक अध्यक्ष सावित्रा कोईराला ले पालिका क्षेत्रमा सञ्चालन भइरहेका लिफ्टिङ खानेपानी योजनाजस्ता अत्यावश्यक सेवामा प्राविधिक जनशक्तिको आवश्यकता रहेकाले यस्तो तालिम माग गरिएको बताइन्। तालिमले स्थानीय स्तरमै सामान्य मर्मतसम्भार गर्न सक्ने जनशक्ति उत्पादन हुने विश्वास उनले व्यक्त गरिन्।
तालिममा मेकानिकल इन्जिनियर विजय गलामी ले घरेलु उपकरणको मर्मत तथा विद्युत् प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा प्रशिक्षण दिइरहेका छन्।
तालिमबाट सहभागीले सीप विकाससँगै स्वरोजगार बन्ने अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ।