
स्याङ्जा, – नयाँ वर्षको अवसर पारेर स्याङ्जाको वालिङमा महोत्सवभन्दा भिन्न स्वरूपको एक्स्पो आयोजना गरिने भएको छ। स्थानीय कला, संस्कृति, संगीत तथा परम्परागत खानाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी चैत २६ गतेदेखि वैशाख २ गतेसम्म “ओम्कार इभेन्ट्स हब फर्स्ट एक्स्पो २०८२/०८३” आयोजना गरिने जनाएका छन्।

आयोजक ओमकार ईभेन्ट्सले वालिङमा पत्रकार सम्मेलन गरी एक्स्पोको तयारीबारे जानकारी दिएको हो। एक्स्पोमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ। साथै वालिङ आसपासका परम्परागत खानाको प्रचार–प्रसार गर्दै स्थानीय खाना व्यवसायी तथा साना उद्यमीलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको आयोजक संस्थाका अध्यक्ष विजय मल्लले जानकारी दिए।
उनका अनुसार युवालाई सिर्जनात्मक र सकारात्मक गतिविधितर्फ आकर्षित गर्नुका साथै विभिन्न समुदायबीच आपसी सद्भाव, सहकार्य र सामाजिक एकता मजबुत बनाउने उद्देश्य पनि कार्यक्रमको रहेको छ। यस्ता सांस्कृतिक गतिविधिले जिल्ला तथा प्रदेशस्तरको आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास आयोजकको छ।
एक्स्पोबाट संकलित रकम खेलमैदान निर्माण तथा खेलकुद पूर्वाधार विकासमा प्रयोग गर्ने योजना समेत रहेको आयोजकले जनाएको छ।
वालिङमा आयोजित पत्रकार सम्मेलनमा वालिङ–१० का वडाध्यक्ष सुनिल खनाल, क्लबका सचिव विजय विक्रम खाण, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइराला लगायतले विविधता समेटेर आयोजना गरिएको एक्पोले विकास, व्यापार र मनोरञ्जनलाई संगै लैजाने उदेश्य रहेको जानकारी दिए । कार्यक्रमको सञ्चालन प्रबन्धक नवराज पौडेलले गरेका थिए।