
स्याङ्जा, मंसिर ६।
विश्व बाल दिवसको सन्दर्भमा गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाले शुक्रबार जिल्ला स्तरीय पञ्चेबाजा प्रतियोगिता सम्पन्न गरेको छ।
स्याङ्जा सदरमुकामस्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका आठ वटा बालबालिका समूहले सहभागीता जनाएका थिए।
सधैंजसो किताब–कापी बोकेर विद्यालय गइरहने विद्यार्थीहरू शुक्रवार पञ्चेबाजाको सेटसँगै मौलिक सांस्कृतिक प्रस्तुति दिन मंचमा उत्रिएका थिए। बालअधिकारका सन्देश समेटिएका गीत, नृत्य र पञ्चेबाजाको तालमा सजिएका प्रस्तुतिहरूले कार्यक्रमलाई थप शोभयमान बनाएको थियो।

प्रतियोगितामा जनतामा.वि. कालिगण्डकीले प्रथम स्थान हासिल गर्दै १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। जनहित मा.वि. आँधिखोला द्वितीय भई १० हजार रुपैयाँ प्राप्त गर्न सफल भयो। पुतलीबजार नगरपालिका–आधारित लामाके बाल बाजा समूह तृतीय र सरस्वती मा.वि. नाङ्गडाँडा सान्त्वना स्थानमा रहे। तृतीय र सान्त्वना स्थानका विजेताले क्रमशः ७ हजार र ४ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाए।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले पञ्चेबाजा प्रतियोगिताले बालबालिकामा मौलिक संस्कृतिप्रतिको रुचि बढाउनुका साथै सांस्कृतिक संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे। “एकीकृत पहलमार्फत बालमैत्री शासनको आधार निर्माण गर्न सकिन्छ,” उनले भने।

एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले संस्कृतिको पुस्तान्तरण, बालप्रतिभा उजागर, अधिकार र आवाज प्रवर्द्धनमा यस किसिमका कार्यक्रम प्रभावकारी हुने बताए।
प्रतियोगितामा आदर्श सोनाम ‘उत्कृष्ट सहनाइ बादक’, राहुल परियार ‘उत्कृष्ट ढोलकी बादक’ घोषित भए। यस्तै, कुशल परियारले ‘बाल प्रतिभा प्रोत्साहन पुरस्कार’ हात पारे। कार्यक्रममा लोक गायक तथा सर्जक लोकनाथ सापकोटाले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेका थिए।
निर्णायकको भूमिकामा राष्ट्रिय सङ्गीतकर्मी संघ स्याङ्जाका अध्यक्ष बुद्धि बहादुर परियार, पञ्चेबाजा विज्ञ रेशम दर्जी र पुतलीबजार प्रज्ञाप्रतिष्ठानका सदस्य रामचन्द्र परियार रहेका थिए। जिल्ला बाल सञ्जाल स्याङ्जाकी अध्यक्ष सुजता पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चारकर्मी विक्रम परियारले सञ्चालन गरेका हुन्।
विश्वभर सन् १९८९ मा बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरिएको दिनको सम्झनामा नोभेम्बर २० तारिखलाई हरेक वर्ष विश्व बाल दिवसका रूपमा मनाइँदै आएको छ।
