स्याङ्जा – २१ असोज ।
भीरकोट उद्योग वाणिज्य संघले स्थानीय सरकारको एकपक्षीय निर्णय र राजनीतिक प्रभावमा परेको गतिविधिप्रति कडा आपत्ति जनाउँदै आजैका मितिदेखि नगरपालिकालाई कुनै पनि प्रकारका कर, दस्तुर वा शुल्क नतिर्ने घोषणा गरेको छ।

संघले मंगलबार भीरकोट नगर प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा भनेको छ – “स्थानीय सरकार सधैं राजनीतिक दादागिरीको आडमा व्यापारिक वातावरण नष्ट गर्न खोज्दै आएको छ, र अब व्यापारी वर्ग मूकदर्शक बनेर बस्ने छैन।”
राज्य पुनर्संरचना पछि स्थापना भएको भीरकोट उद्योग वाणिज्य संघले भीरकोट नगरपालिका, स्याङ्जा जिल्ला र गण्डकी प्रदेशको व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनका लागि दुई पटक “भीरकोट महोत्सव” सम्पन्न गरिसकेको उल्लेख गर्दै संघले स्थानीय सरकारप्रति गम्भीर असन्तुष्टि प्रकट गरेको हो।
संघका अनुसार संघसँग कुनै पनि सहमति, परामर्श वा समन्वय नगरी नगरपालिका–१ बयरघारीमा स्थानीय क्लबहरूलाई “रमाइलो मेला”का नाममा व्यावसायिक स्टल सञ्चालन गर्न अनुमति दिइनु व्यापारी वर्गमाथिको खुला अन्याय हो।
संघका पदाधिकारीहरूले भनेका छन् – “नगरपालिकाले व्यापारीको कर त लिन्छ, तर अधिकार र सम्मान दिदैन। हामीले दशौं पटक मौखिक र लिखित अनुरोध गर्दा पनि बेवास्ता गरियो। अब व्यापारी एकजुट भएर आन्दोलनमा उत्रिनेछन्।
संघले २०८२ असोज १८ गतेको बैठक नं. १३ को निर्णय नं. १ अनुसार कर नतिर्ने निर्णय गरेको जनाएको छ। संघले नगरपालिकाको विरोधमा यो ज्ञापनपत्रसहित स्याङ्जा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्याङ्जा उद्योग वाणिज्य संघ र स्थानीय सञ्चार माध्यममा प्रतिलिपि पठाएको छ।
स्थानीय सरकार र व्यापारीबीचको यो टकरावले भीरकोट बजारको व्यापारिक वातावरणमा थप अस्थिरता ल्याउने देखिएको छ। व्यावसायिक हित विपरित काम गरे आन्दोलन गर्ने चेतावनी व्यापारीले दिएका छन् ।