
वालिङ, स्याङ्जा – २ भदौ ।
वालिङ नगरपालिका–५, द्वारभञ्ज्याङमा एक १३ वर्षीय बालक आफ्नै घरको बाकसभित्र मृत अवस्थामा फेला परेका छन्। श्री सरस्वती आधारभूत विद्यालय, मिनाङ्कोटमा कक्षा ८ मा अध्ययनरत निशान थापा आइतवार साँझ घरमै मृत फेला परेका हुन्।
स्थानीय खुमबहादुर थापाका एकमात्र छोरा निशान आइतवार दिउँसो परीक्षा दिएर बहिनीसँगै घर फर्किएका थिए। उनी घर फर्किएपछि केही समयमै अचानक बेपत्ता भएका थिए। उनकी आमा छिमेकीको मेलामा गएकि थिईन ।
आमा मेलाबाट फर्किएपछि छोरा नदेखिएपछि खोजी सुरु गरिएको थियो। साँझ चट्याङसहित पानी परेको थियो परिवारजन र छिमेकीले धेरै प्रयास गर्दा पनि निशान फेला नपरेपछि अन्ततः घरको आटीमा रहेको बाकस खोल्दा उनी त्यही मृत अवस्थामा फेला परेका थिए।
घटना जानकारी पाएपछि साँझ करिब ९ बजे प्रहरी टोली घटनास्थलमा पुगेको थियो। निशानको शवलाई पोष्टमार्टमका लागि वालिङस्थित गह्रौं प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको र घटनास्थल शिल गरी सुरक्षाका लागि कडा घेराबन्दी गरिएको प्रहरीले जनाएको छ ।
हालसम्म मृत्युको कारण खुल्न सकेको छैन। स्थानीयले घटनालाई अत्यन्त रहस्यमय र असामान्य भन्दै गम्भीर छानबिनको माग गरेका छन्।
यसअघि केही दिनअघि सेतीवेणीवाट वेपत्ता स्याङ्जाकै कालीगण्डकी गाउँपालिका–४ बिर्घाकी श्यामकला पाण्डे र उनका छोरा अर्पित पाण्डे आईतवार नारायणी नदी किनारमा मृत फेला परेका थिए। सो घटनाको पीडा सेलाउन नपाउँदै फेरि अर्को बालकको रहस्यमय मृत्युले स्याङ्जा जिल्लामा भय र आशंका बढाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।