
गल्याङ, साउन २८ ।
अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा गल्याङ जेसीजले गल्याङ क्षेत्रमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउँदै आएका आठ जना युवालाई सम्मान गरेको छ। ‘युवा सशक्तीकरण र प्रेरणा’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा १८ देखि ४० वर्ष उमेर समूहका युवालाई विभिन्न विधामा उत्कृष्ट योगदानका आधारमा सम्मान गरिएको हो।
गल्याङ नगरपालिका–९ का वडा अध्यक्ष नामदेव खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा, संस्कृति, स्वास्थ्य, कृषि, खेलकुद र उद्यमशीलता लगायतका क्षेत्रमा सक्रिय रहेका युवालाई सम्मान गरिएको हो।
सम्मानित युवाहरुमा शिक्षा, धर्म तथा संस्कृति क्षेत्रमा गुरु दीपक गैह्रे, खेल प्रशिक्षक छविलाल गाहा, नवप्रवर्द्धन उद्यमी कृष्ण पाठक, कृषि उद्यमी प्रदीप पाण्डे, स्वास्थ्य क्षेत्रमा सन्तोष भण्डारी, क्रिकेटतर्फ नवप्रतिभा सन्दीप खत्री, भलिबलतर्फ उमेश सेन्चुरी र पशुपालनतर्फ तारा प्रसाद भण्डारी रहेका छन्।
प्रमुख अतिथि खनालले युवालाई राष्ट्रको मेरुदण्ड भन्दै उनीहरुको प्रतिभा र श्रमलाई सही दिशा दिनुपर्नेमा जोड दिए। “गल्याङ जेसीजले सुरु गरेको सम्मान परम्परा प्रेरणादायी छ,” उनले भने।
गल्याङ जेसीजका अध्यक्ष जेसी ज्ञानेन्द्र पाठकले युवाको योगदानको कदर गर्दै उनीहरुलाई अझ नेतृत्वदायी भूमिकामा अघि बढाउन कार्यक्रमले मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा दीर्घकालीन रुपमा युवा सशक्तीकरण, नेतृत्व विकास र सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा संस्था क्रियाशील रहने बताए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, संघसंस्थाका अगुवा, शिक्षक, व्यवसायी र युवाहरुको उल्लेखनीय उपस्थिति थियो।