
स्याङ्जा । गण्डकी प्रदेशभित्रका जिल्ला समन्वय समितिका उपप्रमुखहरूको भेला तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ। भेलाले गण्डकी प्रदेश समन्वय उपप्रमुख तथा सदस्य समूह गठन गर्दै तदर्थ समिति निर्माण गरेको हो।
समितिको संयोजकमा स्याङ्जाका उपप्रमुख खड्कराज सुवेदी सर्वसम्मत चयन भएका छन्। सुवेदीकै पहलमा गठित समितिले सचिवमा म्याग्दीकी डिलकुमारी खत्रीलाई चयन गरेको छ। अन्य सदस्यहरूमा कास्कीकी सरिता कुमाल, लमजुङकी मुना रिमाल, गोरखाकी लिला परियार, मुस्ताङका आइतलाल थकाली, मनाङका सुरेन्द्र गुरुङ, पर्वतका सोम जिसी, नवलपुरकी शकुन्तला लम्साल, तनहुँका वासुदेव थापा र बागलुङका होम सापकोटा रहेका छन्।
भेलाले प्रत्येक जिल्ला समन्वय समितिबाट दुईजना सदस्य मनोनयन गर्ने व्यवस्था समेत गरेको छ। यसले जिल्लाहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउने र विकास निर्माणका क्षेत्रमा अनुभव आदान–प्रदान गर्ने उद्देश्य राखेको संयोजक सुवेदीले बताए।
उनका अनुसार जिल्ला समन्वय समितिको भूमिकाप्रति प्रश्न उठिरहेको समयमा गठन भएको यस समितिले हरेक जिल्लाका विषयमा सक्रिय समन्वयकारी भूमिका खेल्नेछ। गण्डकी प्रदेशका ११ जिल्लामध्ये प्रत्येक जिल्लामा बैठक बस्ने, समस्याहरूको पहिचान गर्ने र राम्रा अभ्यासहरूको अनुसरण गर्ने गृहकार्य पनि हुनेछ।
७ प्रदेशमध्ये गण्डकी प्रदेशका उपप्रमुखहरूले यसरी समिति गठन गरी आफ्नो पहिचान कायम राख्ने काम पहिलो पटक भएको हो। सहभागीहरूले यस पहलले स्थानीय तहबीचको आपसी सहयोग र समन्वयलाई सुदृढ पार्ने विश्वास व्यक्त गरेका छन्।