
स्याङ्जा, १७ साउन ।
सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले स्याङ्जामा सवारी चालक तथा सहचालकहरूलाई लक्षित गर्दै एक दिने सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
गण्डकी यातायात प्रा.लि. स्याङ्जाको सभाहलमा आयोजित कार्यक्रम जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजना तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक दधिराम न्यौपानेले सडक सुरक्षा तथा दुर्घटना न्यूनिकरण गर्न प्रशिक्षण महत्वपूर्ण हुने वताउदै ट्राफिक अनुशासनको प्रवर्द्धन, दुर्घटना न्यूनीकरण तथा प्रहरी र समुदायबीचको सहकार्य सुदृढ गर्न मद्दत पुग्ने अपेक्षा रहेको वताए।

प्रशिक्षण कार्यक्रममा प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरी र प्रहरी नायब निरीक्षक भुपेन्द्र प्रसाद गौलीले सवारी सुरक्षासम्बन्धी विविध पक्षमा प्रशिक्षण प्रदान गरे। उनीहरूले विशेषगरी ट्राफिक नियमको पालना, सवारी चलाउँदा मादक पदार्थ सेवन नगर्ने, यात्रुहरूको सुरक्षामा ध्यान दिने, समयमा सवारी मर्मत गर्ने, सवारी कागजातहरू अद्यावधिक राख्ने लगायतका विषयमा जानकारी गराएका थिए।
कार्यक्रममा करिब ७० जना चालक तथा सहचालकहरूको उपस्थिति रहेको थियो।