
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१/०८२ मा गरेको कार्य सम्पादन तथा चालु आर्थिक वर्षको प्रारम्भिक गतिविधिबारे आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। आइतबार आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक दधिराम न्यौपानेले विगत वर्षमा भएका मुख्य उपलब्धिहरू सार्वजनिक गरेका हुन ।
प्रहरीका अनुसार फरार अभियुक्त नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरिएको छ। गतवर्ष विभिन्न मुद्दामा फरार रहेका ११८ जना पक्राउ परेका छन्, जसमा ९१ पुरुष र २७ महिला छन्। उनीहरूलाई ४२ वर्ष १ महिना २९ दिन कैद सजाय र १ करोड ८७ लाख रुपैयाँभन्दा बढी जरिवाना तोकिएको छ। चालु आर्थिक वर्षको ११ दिनमै १९ जना फरार अपराधी पक्राउ गरिएका छन्।
गतवर्ष २७९ वटा मुद्दा दर्ता भएकोमा आत्महत्या सम्बन्धी मुद्दा सबैभन्दा बढी ५३ वटा छन्। सार्वजनिक हित, स्वास्थ्य तथा नैतिकता सम्बन्धी ५२, ज्यानसम्बन्धी ४७, जबर्जस्ती करणी १५ र लागुऔषधका १४ मुद्दा दर्ता भएका छन्। आत्महत्याका घटना सबैभन्दा बढी पुतलीबजार नगरपालिकामा देखिएको छ।
प्रहरीले अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न २५ सवारीसाधन नियन्त्रणमा लिई ३ लाख ६० हजार रुपैयाँ जरिवाना तिराएको छ। अवैध काठ ओसारपसारमा संलग्न २ सवारीसाधन र १६८ क्युफिट साल काठ पनि बरामद गरिएको छ। गाँजा खेतीविरुद्ध १०२ रोपनी क्षेत्रफलमा रहेको २१ हजारभन्दा बढी गाँजाका बोट नष्ट गरिएको छ।
लागुऔषध नियन्त्रण अन्तर्गत १८ जनालाई पक्राउ गरिएको छ भने उनीहरूसँग विभिन्न लागू औषध, ट्याब्लेट तथा सुकेको गाँजा बरामद भएको छ। सवारी चेकजाँचमार्फत गतवर्ष १ करोड ४१ लाखभन्दा बढी राजस्व संकलन भएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत २२९७ कार्यक्रम सञ्चालन गरिएको छ जसबाट ६२ हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन्। प्रहरीले हराएका १५० जनामध्ये १४६ जनालाई फेला पारेको छ भने ३६ मोबाइल, स्कुटर र साइकल खोजतलास गरी सम्बन्धितलाई बुझाएको जनाएको छ।
प्रहरी प्रमुख न्यौपानेले शान्ति सुरक्षा कायम गर्दै पत्रकार, समुदाय र प्रहरीबीच सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियमितरूपमा कार्यालयवाट भएका काम कारवाहीका विषयमा पत्रकार मार्फत सार्वजानिक गर्ने गरेको वताउदै उक्त कार्यलाई निरन्तरता दिने समेत जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।