
वालिङ, साउन १० । स्याङ्जा जिल्लामा स्थानीय सरकारहरूबीच अनुभव, नीति र सफल अभ्यासहरू आदान–प्रदान गर्ने कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
वालिङ नगरपालिकाको आयोजनामा, अष्ट्रेलियन एड र द एशिया फाउण्डेशनको सहकार्य तथा स्थानीय सरकार सशक्तिकरण कार्यक्रमअन्तर्गत सम्पन्न उक्त कार्यक्रममा जिल्लाभरिका पालिकाहरूले आ–आफ्ना उत्कृष्ट कार्यहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वालिङ नगरपालिकाको स्वास्थ्य सेवा विस्तार, भिरकोटको सरसफाई केन्द्र, पुतलीबजारको ‘उपमेयरसँग सत्केरी आमा’ कार्यक्रम, गल्याङको कृषकसँग कृषि प्राविधिक कार्यक्रम, अर्जुनचौपारीको आमासमुह मोडेल र हरिनास गाउँपालिकाको पूर्वाधार विकास योजना लाई उदाहरणीय अभ्यासको रूपमा प्रस्तुत गरिएको थियो ।
सिकाइ आदान–प्रदानले पालिकाहरूलाई एक–अर्काको अनुभवबाट सिक्न, सफल अभ्यासहरू अनुकरण गर्न र स्थानअनुसार सुधार गर्न प्रेरणा मिलेको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीको धारणा छ ।

कार्यक्रममा वालिङ नगरपालिका प्रमुख कृष्ण खाँणले स्थानीय तहहरूको साझा चासो र प्राथमिकतालाई सम्बोधन गर्न अन्तरपालिका फोरम गठन गरिने वताएका छन् । यस्ता साझा कार्यक्रमलाई सकारात्मक ढंगवाट लिन सवै पालिकालाई आग्रह गरेका थिए ।
वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी ले प्रदेशबाट निर्माण भएका योजना अन्तिम सिफारिसका लागि मात्र पालिकामा आइपुग्दा समन्वयको अवसर नै गुम्ने अवस्था रहेको धारणा व्यक्त गरेकि छन् ।
यो गुनासोले नीति निर्माणमा ‘तलदेखि माथिसम्म’ को अवधारणाको व्यवहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको उनको धारणा थियो । विकास निर्माणमा स्थानीय सरकारलाई सहभागी र सूचना नगरिदा विकास र नागरिकको आवश्यकता र सरकारको प्राथमिकता विच तालमेल मिल्न नसकेको उनको भनाई थियो ।
यस्तै, सहभागी जनप्रतिनिधिहरूले ‘एक पालिका, एक उत्पादन’ नीतिलाई प्राथमिकतामा राख्दै योजना र बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । प्रदेश सरकारका योजनाहरूमा पनि स्थानीय तहको सहभागिता र समन्वय सुनिश्चित गरिनुपर्ने माग समेत कार्यक्रममा उठाइयो ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दुर्गा लामिछानेले योजना बैंकको अवधारणालाई व्यवहारमा उतार्न टुक्रे बजेटको समस्या समाधान गर्नुपर्ने वताएकी थिईन ।
कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका अध्यक्ष श्रीप्रसाद जिटी, उपाध्यक्ष खड्गराज सुवेदी, पुतलीबजार उपमेयर देवी अर्याल, अर्जुनचौपारी उपाध्यक्ष सपना गुरुङ लगायतले यस्ता सिकाइ कार्यक्रमहरू स्थानीय सरकार सशक्तिकरणको आधार हुने भन्दै निरन्तर सञ्चालन गर्नुपर्ने धारणा राखे ।
यस कार्यक्रमले स्याङ्जा जिल्लाभित्रका स्थानीय तहहरूलाई नजिक ल्याई समावेशी, सहकार्यमा आधारित र आत्मनिर्भर स्थानीय शासनको अभ्यासलाई थप बलियो बनाउने विश्वास लिइएको छ ।