
स्याङ्जा, साउन १०।
नेपाली कांग्रेसका नेता, गण्डकी प्रदेशका पूर्व प्रमुख तथा प्रजातान्त्रिक आन्दोलनका सशक्त योद्धा पृथ्वीमान गुरुङको निधन भएको छ।
लामो समयदेखि क्यान्सर रोगसँग संघर्ष गरिरहेका गुरुङको शनिबार चितवनको भरतपुर महानगरपालिका–२६, दिव्यनगरस्थित आफ्नै निवासमा ७६ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
वि.सं. २००६ सालमा कास्कीको ल्वाङघलेलमा जन्मिएका गुरुङले विद्यार्थी कालदेखि नै राजनीतिक यात्रा आरम्भ गरेका थिए। वि.सं. २०२९ सालमा नेपाली कांग्रेसमा आबद्ध भई उनी लोकतान्त्रिक आन्दोलनमा सक्रिय रूपमा सहभागी भए। पञ्चायती शासन व्यवस्थाविरुद्धको संघर्षका क्रममा उनले करिब तीन वर्ष जेल जीवन समेत व्यतीत गरेका थिए।
चितवनलाई आफ्नो राजनीतिक कर्मभूमि बनाएका गुरुङले नेपाली कांग्रेस चितवनको सचिव र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी निर्वाह गरेका थिए। त्यस्तै, पार्टीको केन्द्रीय सदस्यको रूपमा समेत उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
राजनीतिक जीवनभर सादगी, निष्ठा र त्यागका पर्यायका रूपमा चिनिएका गुरुङ पद र शक्तिप्रति मोह नराखी निरन्तर लोकतन्त्र, पार्टी र जनताको सेवामा समर्पित रहे।
उनको निधनप्रति नेपाली कांग्रेसका शीर्ष नेताहरू, गण्डकी प्रदेशका जनप्रतिनिधिहरू, नागरिक समाज तथा पार्टी कार्यकर्ताहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
गुरुङको निधनले नेपाली राजनीतिमा एउटा समर्पित र आदर्श नेतृत्व गुमाएको भन्दै शोक व्यक्त गरिएको छ।