स्याङ्जा, असार २३ – वालिङ नगरपालिका–८ स्थित नेपाल आदर्श माध्यमिक विद्यालयमा एकदिने दन्त परीक्षण शिविर सम्पन्न भएको छ। कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एण्ड डेन्टल हस्पिटल, पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा विद्यालयमा अध्ययनरत करिब १ हजार ३ सय विद्यार्थीको मुख तथा दाँत परीक्षण गरिएको हो।

विद्यालयका प्रधानाध्यापक होमकान्त गौतमका अनुसार नर्सरीदेखि कक्षा १२ सम्मका सम्पूर्ण विद्यार्थीको दाँत परीक्षण गरिएको हो। “हामी विद्यार्थीको शिक्षासँगै स्वास्थ्यमा पनि गम्भीर छौँ,” उनले बताए, “समग्र विकासका लागि शारीरिक स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ।”
उक्त शिविरमा कान्तिपुर डेन्टल अस्पतालबाट आएका दन्त चिकित्सकहरूको टोलीले बालबालिकाको मुखको अवस्था परीक्षण गर्दै आवश्यक सल्लाह र परामर्श प्रदान गरेका थिए। परीक्षणका क्रममा दाँत सम्बन्धी समस्या भएका विद्यार्थीको सूची समेत तयार गरिएको छ जसको उपचारका लागि अभिभावकलाई जानकारी दिइने विद्यालयले जनाएको छ।

नेपाल आदर्श मावि विगत केही वर्षदेखि शैक्षिक गुणस्तरमा जिल्लामै अब्बल मानिन्छ। यस्तै स्वास्थ्यसम्बन्धी सचेतना र परीक्षण कार्यक्रम सञ्चालन गर्दै विद्यालयले विद्यार्थीको समग्र विकासमा योगदान दिँदै आएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर डुम्रेले आगामी दिनमा आँखा परीक्षण, सामान्य स्वास्थ्य परीक्षण तथा पोषण सम्बन्धी सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने वताएका छन्।