
स्याङ्जा २० असार । गल्याङ नगरपालिकाको आयोजना तथा नगरप्रमुख गुरु प्रसाद भट्टराईको विशेष उपस्थितिमा माध्यमिक तहमा कार्यरत शिक्षकहरूको सूचना प्रविधिसम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित पाँचदिने तालिम सम्पन्न भएको छ।
शिक्षकहरूको सूचना प्रविधि सम्बन्धी ज्ञान, सीप र प्रयोगात्मक दक्षता बढाउने लक्ष्यका साथ गरिएको तालिममा गल्याङ नगर क्षेत्रका विभिन्न माध्यमिक विद्यालयमा कार्यरत शिक्षकमण्डलको सहभागिता रहेको थियो। तालिममा सूचना प्रविधिको उपयोगमार्फत शिक्षण सिकाइलाई अझ प्रभावकारी, गुणस्तरी र सरल बनाउने विषयमा व्यवहारिक अभ्यास सहित प्रशिक्षण प्रदान गरिएको थियो।
नगरप्रमुख भट्टराईले डिजिटल युगमा शिक्षण विधि पनि परिवर्तनशील हुँदै गएको उल्लेख गर्दै शिक्षणमा प्रविधिको समावेशीकरण अपरिहार्य भएको बताए। उनले यस्ता तालिमहरू शिक्षकको व्यक्तिगत तथा संस्थागत स्तरमा दीर्घकालीन प्रभाव पार्ने भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा सूचना प्रविधिका विज्ञ प्रशिक्षकहरूले ई–लर्निङ, अनलाइन सामग्रीको उपयोग, डिजिटल प्रस्तुतीकरण प्रविधि, तथा विभिन्न शैक्षिक एप्सहरूको प्रयोग सम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए।
तालिममा सहभागी शिक्षकहरूले तालिमले आफ्ना शिक्षण क्षमतामा सकारात्मक प्रभाव पारेको अनुभव साझा गरेका थिए। गल्याङ नगरपालिकाले आगामी दिनमा प्राथमिक तहका शिक्षकहरूका लागि समेत यस्ता तालिम सञ्चालन गरिने जनाएको छ।