स्याङ्जा, असार १६ ।
कालीगण्डकी गाउँपालिका, स्याङ्जाको शिक्षा शाखाको आयोजनामा आधारभूत तह कक्षा १ देखि ३ सम्म अध्यापन गर्ने शिक्षकहरूलाई लक्षित गर्दै एकीकृत पाठ्यक्रम तथा मूल्याङ्कनसम्बन्धी कस्टमाइज्ड तालिम सम्पन्न भएको छ ।
तालिममा गाउँपालिकाभरिका २८ वटा सामुदायिक विद्यालयबाट एक–एक जना प्रतिनिधि शिक्षक गरी २८ जनाको सहभागिता रहेको थियो । पाँच दिनसम्म सञ्चालन भएको तालिममा विभिन्न शैक्षिक विषयविज्ञहरूले सहजीकरण गरेका थिए । तालिममा नयाँ पाठ्यक्रमको संरचना, सिकाइका उद्देश्य, मूल्याङ्कन विधि र बालमैत्री शिक्षण पद्धतिका बारेमा सिकाईएको थियो ।
यससँगै कालीगण्डकी गाउँपालिकामा आईटी स्रोत शिक्षक क्षमता विकास तालिम पनि समानान्तर रूपमा सन्चालन भएको छ । माध्यमिक तथा आधारभूत तहका विद्यालयका २० जना शिक्षकको सहभागितामा सञ्चालन भइरहेको यस तालिममा सूचना प्रविधिसम्बन्धी प्रयोगात्मक ज्ञान, डिजिटल सामग्री उत्पादन तथा कक्षा शिक्षणमा प्रविधिको उपयोगबारे प्रशिक्षण दिइएको थियो ।
दुबै तालिम कालीगण्डकी स्थित जनता मावि, अर्चलेमा सञ्चालन भएको थियो । तालिमले शिक्षकको क्षमता अभिवृद्धि गरी गाउँपालिकाभर गुणस्तरीय शिक्षामा टेवा पुग्ने अपेक्षा गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेलले जानकारी दिए ।
कालीगण्डकी गाउँपालिकाले शिक्षामा गुणात्मक सुधार ल्याउँदै समग्र शैक्षिक प्रणालीमा नयाँ ऊर्जा भर्ने लक्ष्य लिएको छ।