स्याङ्जा, जेठ २६ ।
आगामी मनसुन याममा हुन सक्ने सम्भावित प्राकृतिक विपद्को प्रभाव न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि स्याङ्जामा सरोकारवाला निकायहरूको समन्वयात्मक बैठक सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजनामा भएको बैठक निमित्त प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको संयोजकत्वमा सम्पन्न भएको हो।
बैठकमा सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था, पत्रकार, रेडक्रस, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। बैठकमा मौसम पूर्वानुमान महाशाखाले आगामी जेठ २८ र २९ गतेसम्म स्याङ्जा जिल्लामा अत्यधिक वर्षाको सम्भावना औंल्याएका कारण थप सतर्कता र पूर्वतयारी आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
बैठकबाट सम्भावित विपत पूर्व तयारी र प्रतिकार्यका लागि वुँदागत निर्णयहरू पारित गरिएको छ, जसअनुसार विपद्को समयमा जनधनको क्षति न्यूनीकरण गर्न विभिन्न क्षेत्रले आ–आफ्नो भूमिका निर्वाह गर्ने गरी योजनाहरू तय गरिएका छन्।
प्रमुख निर्णयहरूमध्ये, बाढीपहिरोका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सूचना तथा जानकारी प्रदान गर्ने, सबै स्थानीय तहमा वडास्तरसम्म सूचना प्रवाह गर्ने, स्वास्थ्य संस्था, अस्पताल, र आरआरटी टोलीलाई सतर्क राख्ने, आवश्यक औषधी र उपकरण तयारी अवस्थामा राख्ने उल्लेखनीय छन्।
त्यस्तै, नेपाल रेडक्रसले विपद्पछिको रगत तथा राहत सामग्री व्यवस्थापन गर्ने, गैरसरकारी संस्थाले उद्दारमा समुदाय परिचालन गर्ने, सञ्चार माध्यमले निःशुल्क सन्देशमूलक सामग्री प्रकाशन तथा प्रशारण गर्ने जिम्मेवारी लिएका छन्।
बैठकले पेट्रोलपम्पहरूलाई विपद् अवधिको लागि इन्धन मौज्दात राख्न निर्देशन दिएको छ भने उद्योग वाणिज्य संघ तथा चेम्बर अफ कमर्शलाई खाद्यान्न भण्डारण तथा मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिन आग्रह गरिएको छ।
जिल्ला समन्वय समिति मार्फत पालिकाले छुट्याउनुपर्ने विपद् उद्दार कोषको रकम समयमै जम्मा गर्न र सबै पालिकाले स्वयंसेवक दस्ता तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउने निर्णयसमेत बैठकले गरेको छ।
बैठकका संयोजक पौडेलले विपद् प्रतिकार्य सामूहिक प्रयासमा मात्र प्रभावकारी हुन्छ, यसकारण सबै निकायले आफू मातहतका कार्य यथाशक्य शीघ्र कार्यान्वयन गर्नु आवश्यक रहेको वताएका थिए ।
विपद् व्यवस्थापन समितिको उक्त बैठक आगामी मनसुनको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण कदमको रूपमा लिइएको छ।