पोखरा, जेठ २४ ।
प्रतिनिधि सभामा रहेका चार जना बहालवाला सांसद हाल विभिन्न अभियोगमा निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद बिहीबार निलम्बनमा परेको हो।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार राष्ट्रसेवक कर्मचारी वा जनप्रतिनिधिविरुद्ध मुद्दा दायर भएपछि मुद्दाको किनारा नलागेसम्म पद स्वतः निलम्बन हुने व्यवस्था अनुसार नेपालको पद निलम्बनमा परेको हो। पतञ्जली योगपीठलाई जडिबुटी खेती तथा अस्पताल खोल्न दिने निर्णयप्रति उठेको प्रश्नपछि आयोगले मुद्दा दर्ता गरेको हो।
यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछाने, कांग्रेस सांसद मोहनबहादुर बस्नेत र एमालेका टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परिसकेको छ। लामिछाने सहकारी ठगी, अपचलन र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा छन्। बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको छ। रायमाझी भने नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भइसकेका छन्।
यता राप्रपाकी सांसद गीता बस्नेत फरार रहेकी छन्। सहकारी ठगी अभियोगमा उनीविरुद्ध वैशाखमा पक्राउ पुर्जी जारी गरिएको थियो। चितवन, बर्दिया र नवलपुरका सहकारी संस्थाबाट करोडौं रकम दुरुपयोग गरेको आरोप लागेकी बस्नेत प्रतिनिधि सभा बैठकमा समेत लामो समयदेखि अनुपस्थित छिन्। तर फरार रहेकाले हालसम्म उनको पद निलम्बनमा परेको छैन।