स्याङ्जा, जेठ २२ ।
विश्व वातावरण दिवस २०८२ को अवसरमा स्याङ्जा जिल्लाको पर्यटकीय गाउँ सिरूवारीमा लालीगुँरास, पारिजात, कल्की, बिरेन्द्र फूलजस्ता विभिन्न जातका बिरुवा रोपिएको छ ।
डिभिजन बन कार्यालय स्याङ्जाको आयोजनामा सम्पन्न वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले वृक्षारोपणले जलवायु परिवर्तन न्यूनीकरणमा सहयोग पुग्ने बताए। उनले प्रकृति संरक्षणमा सामूहिक प्रयासको आवश्यकता औंल्याउँदै वातावरणको सन्तुलन कायम राख्न सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिहरू, वन उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरू, डिभिजन बन कार्यालयका कर्मचारी, उपभोक्ता मञ्चका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता थियो।
वृक्षारोपण कार्यक्रम आँधीखोला गाउँपालिका–१ पञ्चमुलस्थित हरित पार्क र सव-डिभिजन बन कार्यालय परिसरमा सम्पन्न भएको हो।
डिभिजन बन कार्यालयका प्रमुख नवराज वरालले कार्यक्रम सन्चालन गर्दै वातावरणीय सचेतना फैलाउन वृक्षारोपण जस्तो अभियान महत्वपूर्ण हुने बताए। सिरूवारीलाई हरित पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको छ।