स्याङ्जा, जेठ ९ । वाँदरको बढ्दो संख्याले कृषकलाई अन्नबालीमा क्षति पुर्याउँदै आएको गुनासोबीच देशभरका करिब ४० स्थानीय तहमा वाँदर गणना थालिएको छ। सोही अभियानअन्तर्गत स्याङ्जा जिल्लाको वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकामा वाँदर गणना गरिएको हो।
त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभाग, काठमाडौंको नेतृत्वमा तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा गरिएको उक्त गणनाको उद्देश्य वाँदर व्यवस्थापनका लागि प्रभावकारी नीति, योजना र कार्यक्रम निर्माण गर्नु रहेको छ।
वालिङ नगरपालिकामा जेठ ९ गते (शुक्रवार) सम्पन्न गणनामा १ हजार १ सय ४९ वटा बाँदर फेला परेका छन्। नगरका १४ वटै वडामा एकैसाथ गरिएको गणनामा १४ वटा सेतो लङ्गुर (ढेडु वाँदर) भेटिएका छन् भने बाँकी सबै रातो वाँदर रहेको जानकारी संयोजक तथा त्रिवि प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. हरिप्रसाद शर्माले दिए।
उनका अनुसार राष्ट्रिय स्तरमा पहिलोपटक भएको वाँदर गणना अभियान हो। “मानिस र वाँदरबीचको द्वन्द व्यवस्थापन गर्न तथ्यांक आवश्यक थियो, त्यसैले यो पहल गरिएको हो,” उनले भने। गणनाका लागि वाँदरबाट प्रभावित पालिकामा पत्राचार गरेर समस्या पुष्टि गरिएपछि गणना कार्य अघि बढाइएको जानकारी दिए ।
यसअघि स्याङ्जाकै पुतलीबजार नगरपालिकामा गरिएको गणनामा १ हजार ६१ वटा वाँदर भेटिएका थिए, जसमध्ये २८ वटा सेतो ढेडु वाँदर भेटिएको टोलिका सहसंयोजक डा. विष्णुप्रसाद भट्टराईले बताए।
वालिङमा गरिएको गणनामा १३ जनाको टोली परिचालित गरिएको थियो। तथ्यांक संकलनसँगै वाँदर समस्याका सन्दर्भमा जनप्रतिनिधि, कृषक र पत्रकारहरूसँग प्रश्नावली भराईएको थियो।
वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेलाले वाँदर व्यवस्थापन नगरको ठूलो चुनौती रहेको बताउँदै भनिन्, “हामीले केही बजेट विनियोजन गरेका छौं तर अपेक्षित परिणाम पाएका छैनौं।” वाँदरको क्षति न्यूनीकरण गर्न सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गर्दै वन क्षेत्रमा फलफूलयुक्त र तरकारी वर्गका बिरुवा लगाउने योजना बनाइएको उनले जानकारी दिइन्।
गणनापछि अब पर्वत जिल्लाको महाशिला गाउँपालिकामा वाँदर गणना गरिने संयोजक शर्माले जानकारी दिए।