स्याङ्जा, जेठ ६ ।
सडक दुर्घटना न्यूनीकरण तथा यात्रुहरूको यात्रा थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउनका लागि स्याङ्जामा ‘लागू पदार्थ सेवन चेकिङ अभियान’ सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा, स्याङ्जा गण्डकी यातायात प्रालिको सौजन्य तथा जिल्ला अस्पताल स्याङ्जाको प्राविधिक सहयोगमा पुतलीबजार नगरपालिका–१, बिष्णुपधेरा स्थित बसपार्कमा अभियानको सुरुवात गरिएको हो।
अभियानको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालयले मापासे जस्तै लापासे जाँच अभियानले यात्रु र राजमार्ग सुरक्षामा थप सहयोग पुग्ने वताएका थिए ।
कार्यक्रमपछि सिद्धार्थ राजमार्गमा सञ्चालन भइरहेका ३० वटा निजी तथा सार्वजनिक सवारी साधनहरू रोक्काएर चालकहरूको THC (Tetrahydrocannabinol) परीक्षण गरिएको थियो। परीक्षणको क्रममा ३ जना चालकहरूले लागू पदार्थ सेवन गरी सवारी सञ्चालन गरेको पाइएको प्रहरी उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए ।उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
पक्राउ पर्नेहरूमा चोक बहादुर गुरुङ (अर्जुनचौपारी गाउँपालिका–२), स्याङ्जा। सवारी: लु.२ ख. २७९१ नम्बरको बस, सुजन लामा, ३५ वर्ष, जितपुर सिमरा उपमहानगरपालिका–३, बारा सवारी: मधेश प्रदेश ०३–००१ ख. ८७७६ नम्बरको बस र खगेन्द्र भुषाल, २२ वर्ष, निजी जीप चालक (कुखुरा बोक्ने), सवारी: ना.३ च. ४०४८ नम्बरको जीप रहेका छन् ।
प्रहरीका अनुसार यस्तो चेकिङ अभियानलाई अब निरन्तर रूपमा अघि बढाइनेछ। लागू पदार्थ सेवन गरी सवारी सञ्चालन गर्नेहरूलाई कडाइका साथ कारवाही गरिने चेतावनी प्रहरीले दिएको छ। कार्यक्रम जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।