वालिङ, जेठ ६ । वालिङ नगरपालिका क्षयरोग (टीबी) मुक्त स्थानीय तह घोषणा गर्न सक्रिय भएको छ। विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्म क्षयरोग समाप्त गर्ने लक्ष्य राखेको भए पनि वालिङले सन् २०३० मै त्यो लक्ष्य हासिल गर्ने तयारी गरिरहेको छ।
नगरपालिकाले सन् २०२१ देखि नै क्षयरोग अन्त्यको अभियानलाई तीव्र बनाउँदै आएको हो। “हामी क्षयरोग मुक्त नगरपालिका घोषणाको तयारीमा छौं,” स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले भने, “लक्ष्य प्राप्तिका लागि योजना र कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइरहेका छौं।”
स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५२ जना क्षयरोगीले नियमित औषधि सेवन गरी निको भएका छन्। यसअघि आर्थिक वर्ष ०८०/८१ मा ६८ जना र ०७९/८० मा ७७ जना बिरामी उपचारबाट निको भएको क्षयरोग संयोजक मोनिका कोइरालाले जानकारी दिइन्। कोइरालाका अनुसार, उपलब्धीहरू सकारात्मक भए पनि क्षयरोग मुक्त घोषणा गर्न अझ प्रभावकारी र दीर्घकालीन कार्यक्रमहरू आवश्यक छन्।
“हामीले समुदाय स्तरमै जोखिम समूह पहिचान गर्दै महिला स्वास्थ्य स्वयंसेविका र समुदायिक नर्समार्फत जनचेतना, स्वास्थ्य परीक्षण, निःशुल्क एक्सरे क्याम्प लगायतका गतिविधि सञ्चालन गरेका छौं,” स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले वताए ।
नगरपालिकाको अभियानमा जनप्रतिनिधिहरूको सक्रियता उल्लेखनीय रहेको छ। उनीहरूले वडास्तरीय एक्सरे शिविरमार्फत शंकास्पद बिरामीलाई परीक्षणका लागि ल्याएर ठुलो सहयोग पुर्याएको स्वास्थ्य शाखाले जनाएको छ।
नगर उपप्रमुख कविता तिवारीले नगरवासीहरूलाई क्षयरोगको लक्षण देखिएमा तुरुन्त नगर अस्पतालमा जान अनुरोध गरिन्। “क्षयरोग लाग्दैमा डराउनु पर्दैन, नियमित औषधि सेवनले यो रोग पूर्ण रूपमा निको हुन्छ,” उनले भनिन्।
आर्थिक रूपमा कमजोर बिरामीलाई मासिक तीन हजार रुपैयाँ बराबरको पोषण सहायता उपलब्ध गराउँदै आएको समेत संयोजक कोइरालाले बताइन्।
क्षयरोग विरुद्धको अभियान सञ्चालन भएसँगै वालिङमा हालसम्म ५ जनाको मृत्यु भइसकेको स्वास्थ्य शाखाले जनाएको छ।