स्याङ्जा, जेठ ५ । जिल्ला सदरमुकाममा २०५८ सालमा स्थापना भएको रोयल बचत तथा ऋण सहकारी संस्था स्याङ्जाले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा जिल्लाकै एक वेद विद्याश्रमलाई सहयोग प्रदान गरेको छ।
सहकारीले आँधीखोला गाउँपालिका–२, काफलटारी रहेको गुरुकुल वेद विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना विद्यार्थीलाई लक्षित गर्दै सरसफाइ सामग्री, खाना खाने र पानी प्रशोधनका भाँडा लगायतका सामग्री सहयोग गरेको हो। साथै सहकारीले विद्याश्रमको आजीवन सदस्यता पनि ग्रहण गरेको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष विष्णुप्रसाद पोखरेलले आर्थिक कारोबारका अतिरिक्त सामाजिक उत्तरदायित्व वहन गर्दै सहकारीले समाजसेवामा पनि सक्रिय भूमिका खेलिरहेको बताए। सबै पक्षको सकारात्मक सहयोग भएमा यस्ता आश्रम तथा शिक्षालय सञ्चालनमा सहज हुने धारणा उनले राखे।
कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष नविन ढकाल र सहकारीका सचिव प्रकाश डोटेलले देशका विभिन्न स्थानमा स्थापना भएका वेद विद्याश्रमहरूलाई सरकारले अपेक्षित सहयोग नगरेको गुनासो गरे। सरकारी सहयोगको अभावमा यस्ता संस्थाहरु सञ्चालनमा कठिनाइ भइरहेको उनीहरूको भनाइ थियो।
विद्याश्रमका संस्थापक पुन्यप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत प्राचार्य रामचन्द्र तिमिल्सिनाले गरेका थिए भने कार्यक्रम सञ्चालन शिक्षक सुबोध ढकालले गरेका थिए।
२०६२ सालको असार महिनाबाट सञ्चालनमा आएको वेद विद्याश्रममा हाल कक्षा ६ देखि १० सम्म ३३ जना विद्यार्थी अध्ययनरत छन्। भौतिक संरचना विस्तार हुँदै गए पनि दैनिक सञ्चालनमा आर्थिक अभाव झेल्नु परिरहेको विद्यालय प्रशासनले जनाएको छ।