स्याङ्जा, जेठ ३ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसलाई नेपालको स्थायी राष्ट्रिय शक्ति भएको दाबी गरेका छन्। नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले काँग्रेसले इतिहासदेखि नै देशलाई नेतृत्व गर्दै आएको स्मरण गराए।
“निर्वाचनमा कहिले ठूलो, कहिले सानो मत प्राप्त भए पनि काँग्रेस देशको प्रमुख शक्ति हो,” उनले भने, “हामीले नागरिकलाई वेला-वेला देखाएका आशाका किरणहरूले परिवर्तनको सपना देखाएका थियौं, तर अहिले त्यही नागरिक निराश भएका छन्। ती रिसाएका नागरिकसँग संवाद गर्नु नै हाम्रो जिम्मेवारी हो।”
थापाले नेपाली काँग्रेसको राजनीति ढाटछोप र उत्तेजनाको आधारमा नहुने बताउँदै जनताले उठाएका असन्तुष्टिका सवालमा संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याए। “नागरिक सबैभन्दा बढी भ्रष्टाचार र कुशासनका कारण रिसाएका छन्,” उनले भने, “हामीले गर्ने निर्णय जनताले मात्र होइन, संविधानले पनि पत्याउने हुनुपर्छ।”
उनले आउँदै गरेको २०८४ सालको निर्वाचनको सन्दर्भमा जनतामाझ जाने तयारी अझ जिम्मेवार ढंगले हुनुपर्ने बताए। “ऐना पुछेर मुख सफा हुन्छ भन्ने जस्तो तयारीले हुँदैन, जवाफदेही बन्न सक्नुपर्छ,” थापाको भनाइ थियो।
महामन्त्री थापाले वर्तमान आर्थिक अवस्थालाई ‘रोगी अर्थतन्त्र’ को संज्ञा दिँदै यसको उपचारको जिम्मेवारी काँग्रेसले लिनुपर्ने धारणा राखे। “हामीले रोग किन लाग्यो भनेर खोज्नुपर्छ, अनि मात्र अर्थतन्त्रलाई सही दिशामा लैजान सक्छौं,” उनले स्पष्ट पारे।
सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले पार्टीको विचार, सिद्धान्त र आगामी योजनाहरू जनतासामु प्रष्ट ढंगले प्रस्तुत गर्नुपर्ने समय आएको बताएका छन्।
उनले वर्तमान अवस्थामा जनता पार्टीको अतीतभन्दा भविष्यप्रति आशावादी हुने भएकाले त्यसअनुसार प्रस्तुत हुन नेतृत्वलाई आग्रह गरे। “नेपाली काँग्रेसका पुराना कुराभन्दा अबका योजना के हो भन्ने जनतालाई दिन सक्नुपर्छ,” उनले भने, “शिक्षा, स्वास्थ्य, विकास र राजनीति सबै क्षेत्रमा आगामी १० वर्षको स्पष्ट कार्ययोजना लिएर जनता माझ जानुपर्ने समय आएको छ।”
अर्की केन्द्रीय सदस्य सरस्वती तिवारीले पार्टीमा कार्यकर्ताको एकता आवश्यक रहेको वताएकी थिईन । सम्मेलनमा नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यवहाक सभापती कल्पना तिवारीले नेपाली काँग्रेस मुलुककै जिम्मेवार राजनैतिक दल भएकाले जनताको मन र मत दुवै जित्ने गरि अवको कार्ययोजना वनाउनुपर्ने वताईन ।
नेपाली काँग्रेस स्याङ्जाका सभापती राजु थापाले काँग्रेसकै नेतृत्वमा भएका परिवर्तनले विकासको लहर आएको वताएका थिए । सिद्दार्थ राजमार्ग स्तरोन्नतीको विषयमा जिल्लाका सवै साँसदहरू लागेको वताउदै आगामी वजेटमा सम्बोधन हुने सरकारको आश्वासन पाएको समेत सम्मेलनमा जानकारी गराएका थिए ।
नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं १ का सभापती तुलसीराम रेग्मीको सभापतित्वमा सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनको सन्चालन मनोज मल्लले गरेका थिए । कार्यक्रममा पार्टीका नेता तथा भातृ शुभेच्छुक संस्थावाट समेत सम्मेलनमा मन्तव्य राखेका थिए ।